काठमाडौं । सभामुख देवराज घिमिरेले रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा आन्तरिक परामर्श गरिरहनुभएको छ ।
रास्वपा सभापति लामिछानेविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको मुद्दा दायर गरिएको पत्र संसद् सचिवालयलाई हिजो अवेरमात्र कास्की प्रहरीले जानकारी गराएको थियो । कास्की प्रहरीको पत्र पाएसँगै संसद् सचिवालयले लामिछानेको सांसद पदलाई लिएर कसरी अघि बढ्ने भन्ने विषयमा आन्तरिक परामर्श गरिरहेको सभामुखको सचिवालयले जनाएको छ ।
सहकारी ठगी प्रकरण र सम्पत्ति शुद्धीकरणको मुद्दा नै अदालतमा दायर भएसँगै अब लामिछानेको सांसद पदलाई लिएर निलम्बन गर्ने कि जानकारी मात्र गराउने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ । लामिछानेको विषयलाई लिएर साँझ पाँच बजे सम्ममा टुङ्गोमा पुग्नेसमेत सचिवालयको भनाइ छ ।
यही विषयलाई लिएर सभामुख घिमिरे र संघीय संसद्का महासचिव पद्म पाण्डेसँग रास्वपाका सांसदहरु गणेश पराजुली, सोविता गौतम र सन्तोष परियारले भेटेर सूचना जारी नगर्न ध्यानाकर्षण गराएका छन् । रास्वपा सांसदहरुले संसद् नियामावली २२८ अनुसार निलम्बनको प्रावधान नभएको पनि सभामुखको ध्यानाकर्षण गराएका छन् ।