काठमाडौं । लोप हुँदै गएको परम्परागत सीप र नयाँ प्रविधिको विकासको बारेमा पूर्वी नवलपरासीको देवचुलीका विद्यार्थीले प्रदशर्नी गरेका छन् । विद्यार्थी सीप मेलामा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीले प्रदशर्नीस्थलमा नै हलो बनाउने, डोको, गुन्द्री बुन्ने, पात गाँस्ने, भजन गाउने जस्ता सीपमूलक कामको प्रदशर्नी गरेका थिए ।
यसैगरी नयाँ प्रविधिको स्मार्ट सिटी, द्रुत गतिको इन्टरनेट, फोहोर व्यवस्थापनको नयाँ प्रविधिको प्रदशर्नीमा अभिभावक तथा जनप्रतिनिधिको ध्यानाकर्षित भएको थियो । किताबी ज्ञान बाहेक प्रयोगात्मक र परम्परागत सीप, ज्ञान र प्रविधिको संरक्षण र नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले मेला आयोजना गरिएको देवचुली नगरपालिका शिक्षा समितिका सदस्य शिवप्रसाद देवकोटाले बताउनुभयो ।
प्रदशर्नीमा नगरभित्रका सामुदायिक र संस्थागत गरेर २४ वटा विद्यालयको सहभागिता रहेको थियो ।