काठमाडौं । मानवअधिकारसम्बन्धी तीन वटा अन्तर्राष्ट्रिय संस्थाले संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई वटा आयोगमा पदाधिकारी छनोट प्रक्रिया पुनः सुरु गर्न प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कोर्ट अफ जस्टिस-आईसीजे र हृयुमन राइट्स वाचले संयुक्त विज्ञप्ति जारी गर्दै मानवीय संवेदनालाई ध्यानमा राखेर आयोगहरुमा पदाधिकारी नियुक्त प्रक्रिया पुनः सुरु गर्न आग्रह गरेका हुन् ।
उनीहरुले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पत्र लेखेरै पदाधिकारी सिफारिस समितिले प्रारम्भिक चरणमा छनोट गरेका ४० जनामध्ये कसैलाई पनि नियुक्त नगर्न सचेत गराएका हुन् ।
तीन नेतालाई पठाइएको पत्रमा संक्रमणकालीन न्यायका लागि अन्तर्राष्ट्रिय मानवअधिकार कानुन, अन्तर्राष्ट्रिय मानवीय कानुन र अन्तर्राष्ट्रिय फौजदारी कानुनको परिपालना आवश्यक भएकाले नेपाल सरकारलगायत सबै सरोकारवाला पक्षले यो प्रक्रियाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैधानिकताको रक्षा गर्नसमेत आग्रह गरिएको छ ।