बढ्दो आर्थिक अपराध, चार महिनामा बैंकिङ कसुुरका मात्रै ४३ सय उजुरी दर्ता

पुस ४, २०८१ |रमेश धमला
बढ्दो आर्थिक अपराध, चार महिनामा बैंकिङ कसुुरका मात्रै ४३ सय उजुरी दर्ता

काठमाडौं । फौजदारी अपराध नियन्त्रणका लागि कानुनी अधिकार प्राप्त नेपाल प्रहरीले दैनिक गर्ने कारबाहीको तथ्यांकले देशको शान्ति सुरक्षाको अवस्था झल्काएको छ । चालु आर्थिक वर्षको चार महिनामा देशैभर १९ हजार ४९८ आपराधिक घटना प्रहरीमा दर्ता भएका छन् । तीमध्ये बैंकिङ कसुर, आर्थिक कारोबार र ठगीका घटना सबैभन्दा बढी छन् ।

चार महिनामा बैंकिङ कसुरमा मात्रै ४ हजार ३५९ उजुरी परेका छन् । चेक बाउन्सको मुद्दा मात्रै हेर्न मिल्ने प्रहरीका लागि आर्थिक अपराध सबैभन्दा चुनौती बनिरहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै जघन्य अपराधका घटना पनि कम छैनन् । प्रहरीको तथ्यांक अनुसार चार महिनामा हत्याका १०९ घटना भएका छन् भने हत्या प्रयासका ३८२ उजुरी परेका छन् । त्यस्तै चार महिनामा अपहरणका ६५ उजुरी दर्ता हुनुले पनि शान्ति सुरक्षामा प्रश्न गर्ने ठाउँ दिएको छ ।

नेपाली समाजमा जबरजस्ती करणी अर्को जोखिम बन्दै गएको छ । चार महिनामा प्रहरीमा पुगेका ८२३ घटनाले त्यसको पुष्टि गर्छ । आमहत्याको तथ्यांक पनि डरलाग्दो छ । यो बीचमा २ हजार २३६ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्न बाध्य बनाउने विरुद्ध दुरुत्साहन मुद्दा लगाउन सकिने कानुनी व्यवस्था छ । तर परिवारकै सदस्य त्यसको कारक बनेपछि उजुरीमा जाने संख्या न्यून छ ।

नेपाल प्रहरीमा दैनिक सरदर १६२ आपराधिक घटना दर्ता हुँदा भने सरदर ७ वटा जबरजस्ती करणीका हुने गरेका छन् । सबै घटनामा गरी दैनिक सरदर ११७ जना पक्राउ पर्ने गरेको प्रहरीको केन्द्रीय तथ्यांकले देखाएको छ ।

त्यसो त प्रहरी संगठनमा सरुवा र बढुवामा हुने राजनीतिक हस्तक्षेपका कारण चुनौती लिएर काम गर्नेहरू पाखा लाग्ने गरेका छन् । संगठन र सरकार दुवैबाट संरक्षण नहुने भएपछि जोखिम लिएर काम गर्न छोडेको गुनासो प्रहरीभित्रै छ । आपराधिक घटना नियन्त्रणमा लिँदै देशको शान्ति सुरक्षा बलियो बनाउन प्रहरी संगठनलाई प्रविधिमैत्री र थप सबल बनाउनुपर्ने देखिन्छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement