दाङ । गत आर्थिक वर्षमा श्रम स्वीकृती लिएर देशभरबाट ७ लाख ४१ हजार २९७ वैदेशिक रोजगारीमा गए । विदेश जाने सबैको एउटै सपना हुन्छ आफ्नो र परिवारको रहर पूरा गर्ने अनि घरमा सुख र समृद्धि भित्र्याउने । यस्तै सपना बोकेर विदेश उडेका युवामध्ये दैनिक औसत चार जनाको मृत शरीर काठको बाकसमा स्वदेश फर्किन्छ ।
पाल्पाको तानसेन नगरपालिका १ बराङदीकी निर्मला घर्तिमगरका श्रीमान् नरबहादुरको गत वैशाखमा मलेसियामा मृत्यु भयो । बैशाखको ४ गते भएको मृत्युको जानकारी परिवारले तीन दिनपछि मात्र पायो । मृत्युको कारण थाहा पाउन निकै समय लाग्यो । डिप्रेसनको औषधी खाने गरेका नरबहादुरले कोठामै झुन्डिएर आत्महत्या गरेको खबर पाएका परिवार अहिले पनि यो कुरा सम्झिँदा भावविह्वल हुन्छन् । निर्मलाले बीमालगायत केही सुविधा पाउनसक्नुभएको छैन ।
दाङको घोराही उपमहानगरपालिका ९ तेघराकी स्यानी चौधरीका श्रीमान शरदलाल वैदेशिक रोजगारीका सलसिलामा ९ वर्षसम्म विभिन्न मुलुक बस्नुभयो । पछिल्लो चार वर्षदेखि दुबईमा रहेका शरदलालको गत साउन एक गते मृत्यु भयो । दिनहुँ घरमा कुराकानी भइरहने शरललालले साउन १ गते दिउँसो आफू अलिक बिरामी भएको बताएको र सोही राति मत्यु भएको परिवारको भनाइ छ । श्रीमान गुमाउँदाको पीडासँगै अब स्यानीलाई दुई छोराको लालनपालनको चिन्ताले विक्षिप्त बनाउँछ ।
स्यानीकै छिमेकी ४० वर्षकी झ्याउली थरुनीका श्रीमान कालुरामको पनि वैदेशिक रोजगारीमा मलेसिया गएको ७ महिनामै मृत्यु भयो । ७ वर्ष साउदी बसेका कालुराम कमाइ राम्रो नभएपछि फर्केर २०७९ भदौमा मलेसिया जानुभएको थियो । काममै रहेका बेला हृदयघात भएर २०८० वैशाख १४ गते उहाँको मृत्यु भएको जानकारी पाएको परिवार बताउँछ ।
२०७६ यता दाङबाट वैदेशिक रोजगारीमा गएका १६५ जनाको विदेशमै मृत्यु भएको छ । रेमिट्यान्स आप्रवाहमा निरन्तर वृद्धि भइरहेको आँकडा देखाएर अर्थतन्त्रको बाह्य सूचक सबल बन्दै गएकोमा खुसी मनाउने सरकारले आफ्ना नागरिकले विदेशमा अकालमै ज्यान गुमाइरहेको तथ्यलाई भने बिर्सेको छ ।