सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नसक्दा श्रमिक ठगिने क्रम बढ्दै

चार महिनामै ३२ सयभन्दा बढी उजुरी
व्यक्तिगत रुपमा जानेहरु बढी जोखिममा
पुस ३, २०८१ |कृपाल गौतम
सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नसक्दा श्रमिक ठगिने क्रम बढ्दै

काठमाडौं । नेपालबाट दैनिक दुई हजारको हाराहारीमा युवाहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् । धेरैजसो स्वदेशमा अवसर नपाउँदा विदेशिन बाध्य भएका हुन् । तर यसरी जाने र जान खोज्नेहरुमध्ये कयौं त ठगीमा पर्ने गरेका छन् । विदेश पठाइदिन्छु भनेर अलपत्र पार्ने समस्या एकातिर छ भने बल्लतल्ल गएकाहरु पनि भनेअनुसारको सेवा सुविधा नपाएर पीडित बन्ने गरेका छन् । वैदेशिक रोजगारीका क्रममा हुने ठगी अझैसम्म नियन्त्रण हुन सकेको छैन ।

सल्यानका राजेन्द्रबहादुर बस्नेत गत वैशाखमा वैदेशिक रोजगार कम्पनीमार्फत नै मलेसिया जानुभयो । तर, कम्पनीले भनेअनुसारको काम त्यहाँ पुगेपछि उहाँले पाउनुभएन । नेपालमा जति भनिएको थियो, त्यो अनुसारको पारिश्रमिक पनि उहाँले पाउनुभएन । त्यही क्रममा उहाँ बिरामी हुनुभयो । आफूले गरेको सम्झौताअनुसारको काम र पारिश्रमिक दिन उहाँले रोजगारदाता कम्पनी र वैदेशिक रोजगार कम्पनीका एजेन्टसँग पटकपटक माग गर्नुभयो । तर कुनै सुनुवाइ नभएपछि आफ्नै खर्चमा टिकट काटेर स्वदेश फर्कनुभयो ।

सप्तरीका विशेश्वर साहका छोरा वैदेशिक रोजगारीका क्रममा अहिले दुबईमा हुनुहुन्छ । तर दुबई पठाउने कम्पनीले भनेअनुसारको काम र पारिश्रमिक उहाँले पाउनुभएको छैन । छोरा ठगिएको थाहा पाएपछि अहिले विशेश्वर न्याय खोज्दै वैदेशिक रोजगार विभागमा धाइरहनुभएको छ ।

वैदेशिक रोजगार विभागमा ठगीसम्बन्धी उजुरीका चाङ नै छन् । चालु आर्थिक वर्षको चार महिनाभित्रै ३२ सय ९० वटा उजुरी विभागमा परेका छन् । त्यसमध्ये १३ सय ६१ वटा फर्स्योट भएका छन् । विभागले १५ करोड रुपैयाँ क्षतिपूर्ति दिलाएको छ । विभागले गतवर्ष मात्र ७ लाख ४१ हजारको श्रम स्वीकृति दिएको जनाएको छ । त्यसरी श्रम स्वीकृति लिनेमध्ये २ प्रतिशतले भने अनुसारको रोजगारी नदिएको लगायतका गुनासोसहित उजुरी गर्ने गरेका छन् । त्यसरी उजुरी गर्नेमध्ये सबैभन्दा धेरै खाडी मुलुक जानेहरु नै छन् ।

त्यसो त व्यक्तिगत रुपमा जानेहरु पनि ठगीमा पर्ने गरेका छन् । बिचौलियालाई ठूलो रकम बुझाएर युरोप, अमेरिकालगायतका देशमा पुग्नेहरु ठगीमा पर्ने गरेका हुन् । तर संस्थागत रुपमा जानेहरुलाई न्याय दिन सजिलो हुने भए पनि व्यक्तिगत रुपमा जानेहरुलाई कठिन हुने विभागले जनाएको छ ।

वैदेशिक रोजगारी नेपालीको स्वेच्छाभन्दा पनि बाध्यता हो । ऋणधन गरेर विदेश जान खोज्ने र गएकाहरु नै पटकपटक ठगीमा पर्दा पनि सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सकेको छैन । विदेशमा श्रम गरेर पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिँदै आएको अवस्थामा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन ढिलाइ गर्नु हुँदैन ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement