कुख्यात भारतीय डाँका सिरहाबाट पक्राउ

पुस २, २०८१ |विनय आजाद
कुख्यात भारतीय डाँका सिरहाबाट पक्राउ

सिरहा । कुख्यात भारतीय डाँका सिरहाबाट पक्राउ परेका छन् । प्रहरीले सिरहा नगरपालिका-१७ माडरस्थित दशगजा क्षेत्रबाट भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसैनलाई पक्राउ गरेको हो ।

आरिफलाई शनिबार बिहान ४ बजे हात खुट्टा सहित शरीरका विभिन्न भागमा चोट लागेको घाइते अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । प्रहरीका अनुसार, नेपाल सहित भारतका विभिन्न स्थानमा उनी विरुद्ध डकैती, लुटपाट तथा संगठित अपराध मुद्दा दर्ता छ ।

महोत्तरीको महोत्तरी गाउँपालिका-२ स्थित एनएमबि बैंकको शाखामा २०८० जेठ १६ मा भएको लुटपाट घटनामा पनि उनी प्रतिवादी रहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले बताउनु भयो । त्यस शाखाबाट पाँच जनाको हतियारधारी समूहले पेस्तोल देखाउँदै ३८ लाख लुटेको थियो ।

यस्तै, २०७९ फागुन १० मा सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ३ स्थित बतहा पुलमा पैसा बोकेर गइरहेका ग्लोबल आईएमई बैंकका कर्मचारीलाई पेस्तोल देखाई उनको साथबाट नौ लाख रुपैयाँ लुटेर फरार भएको घटनामा पनि उनी प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीले उनीबारे सूचना दिनेलाई २५ हजार पुरस्कार दिने घोषणा गरेको समेत सिरहा प्रहरीले जनाएको छ ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement