काठमाडौं । सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असद सरकारले २०१८ र २०१९को बीचमा करिब २५ करोड डलर नगद विमानद्वारा रुस पुर्याएको बेलायतबाट प्रकाशित हुने दैनिक पत्रिका फाइनान्सियल टाइम्सले खुलासा गरेको छ ।
सय डलर र पाँच सय यूरोका बण्डल गरी करिब दुई टन तौलका नोट मस्कोको 'भनुकोभो' विमानस्थल पुर्याइएको र त्यहाँबाट एउटा रुसी ब्यांकमा जम्मा गरिएको स्रोतलाई उल्लेख गर्दै उक्त पत्रिकाले जनाएको छ । रिपोर्टमा असदका नातेदारहरुले सोही अवधिमा रुसमा थुप्रै अचल सम्पत्ति किनेको समेत उल्लेख गरिएको छ ।
विद्रोही समूह हयात तहरिर अल शाम–एचटीएसले राजधानी दमास्कस नियन्त्रणमा लिएपछि यही डिसेम्बर ८ मा राष्ट्रपति असद देश छाडेर रुस पलायन भएका थिए । असदको पलायनसँगै १३ वर्षदेखि जारी सिरियाली गृहयुद्ध निर्णायक विन्दुमा पुगेको थियो भने असद वंशको पचास वर्षको शासन पनि अन्त्य भएको थियो ।
सिरियाली गृहयुद्धमा करिब पाँच लाख मानिस मारिएका थिए भने दशौं लाख विस्थापित भएका थिए । असदमाथि विपक्षी समूहहरुले देश लुटेको र युद्धका लागि आवश्यक आर्थिक स्रोत जुटाउन आपराधिक गतिविधिलाई बढावा दिएको आरोप लगाउँदै आएका छन् । असद र उनका सहयोगीहरुले अन्तर्राष्ट्रिय लागुऔषध कारोबार र तेलको अवैध व्यापारबाट पनि ठूलो आर्थिक आम्दानी गरेको अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले जनाएको छ ।
रुसले वर्षौंदेखि असद सरकारको समर्थन गर्दै आएको थियो भने सिरियाली गृहयुद्धमा रुस र इरान समर्थित हिजबुल्लाह लडाकु समूहले गरेको प्रत्यक्ष सहयोगका कारण नै असद सरकार टिक्दै आएको थियो ।