ललितपुरको पाँच ठाउँमा ‘इन्टेलिजेन्ट ट्राफिक लाइट’

पुस १, २०८१ |कान्तिपुर टीभी संवाददाता
ललितपुरको पाँच ठाउँमा ‘इन्टेलिजेन्ट ट्राफिक लाइट’

ललितपुर । ललितपुर महानगरपालिकाले सोमबारबाट औपचारिक रूपमा ‘इन्टेलिजेन्ट ट्राफिक लाइट’ सञ्चालनमा ल्याएको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले पुल्चोकस्थित महानगर कार्यालय अगाडिको चोकमा राखिएको लाइटको स्विच अन गरेर लाइट उद्घाटन गर्नु भयो ।

लाइट जडान गरेको नमुना पावर ग्रेड जेभीले सुरूमा ११७ स्थानमा सम्भाव्यता अध्ययन गरे पनि हाललाई धेरै ट्राफिक हुने ललितपुर महानगरले कुपण्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा यस्ता लाइट जडान गरिएको छ । पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवतास्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँच वटा लाइट जडान गरिएको शहरी विकास योजना महाशाखा प्रमुख तथा यो परियोजनाको प्रमुख डिभिजनल इन्जिनीयर श्रीकुमार महर्जनले जानकारी दिनु भयो ।

लाइटसँगै राखिएको भेइकल डिटेक्टर मेसिनले सडकमा सवारीसाधनको संख्या तत्काल रिड गरेर तत्कालै ट्राफिक लाइटको चिप तथा सर्भरलाई जानकारी गराउँछ । सोही आधारमा इन्टेलिजेन्स प्रणालीमा आधारित सिस्टमले जता धेरै सवारीसाधन छन् त्यतातिर हरियो बत्ती बाल्छ । काठमाडौंतर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३०–५० सेकेन्ड मात्रै पर्खे पुग्छ । महानगरका प्रमुख चिरीबाबु महर्जनले ट्राफिक व्यवस्थापन गर्न यो लाइट जोडिएको बताउँदै यो नेपालमै पहिलो भएको धारणा राख्नु भयो ।

पाँच वर्षसम्म महानगरले मर्मत गर्न परे एक पैसा पनि खर्च गर्न नपर्ने नगर प्रमुख महर्जनले बताउनु भयो । उहाँले भन्नु भयो, “ट्राफिक लाइटबीच भलाकुसारी हुन्छ, स्टपेज टाइम बढाउने, ग्रीन टाइम बढाउने घटाउने सन्दर्भमा कुराकानी हुन्छ ।”

नगर प्रमुख महर्जनले अर्को वर्ष चक्रपथ बाहिरका वडाका प्रमुख सडकमा पनि यो ट्राफिक लाइट जडान गर्ने जानकारी दिनु भयो ।

यो ट्राफिक बत्तीको सिस्टमले नै आफैं समय निर्धारण गर्छ । हाल यसको मनिटरिङ सिस्टम ट्राफिक कार्यालयमा राखिएको छ । यो लाइट फिक्स, पुलिस म्यानुअल, सिङ्क्रोनाइजेशन, एटीसीएस लगायत आवश्यकता अनुसारको मोडमा प्रयोग गर्न सकिने प्राविधिक सुयोसभक्त माथेमाले बताउनु भयो । उहाँका अनुसार यो लाइटले सवारीसाधनको र दुर्घटनाको तथ्यांक समेत राख्छ र पाँच वर्षसम्मको डेटा भण्डारण हुन्छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement