गरिखाने उपाय नभएपछि कर्णालीबासीलाई कालापहाड जाने बाध्यता

युवा जति परदेश हिँड्दा गाउँघर सुनसान
मंसिर २९, २०८१ |डीबी बुढा
गरिखाने उपाय नभएपछि कर्णालीबासीलाई कालापहाड जाने बाध्यता

जुम्ला । कर्णालीका युवाजति सबै कालापहाड जान थालेपछि गाउँघर सुनसान छन् । गाउँमा गरिखाने मेसो नभएको भन्दै युवाहरु रोजगारीका लागि धमाधम कालापहाड अर्थात् भारत पस्न थालेका हुन् । पछिल्लो समयमा पुरुष मात्र नभई महिलासमेत कालापहाड जाने क्रम बढ्दो छ ।

आम्दानीको कुनै स्रोत नभेटेपछि गाउँ छाडेर कालापहाडमा काम खोज्दै हिाड्नुपर्ने बाध्यता कर्णालीका युवाहरुको छ । युवाजति सबै भारत जाँदा खेतिपातीलगायतका कामको बोझ सबै ज्येष्ठ नागरिकले बेहोर्नुपर्छ । उनीहरुलाई घर व्यवहार धान्न र बस्तुभाउ स्याहार्न सकस छ । घरै रित्तो बनाएर भारत जाने क्रम बढेकोले जुम्लाका अधिकांश गाउँहरु सुनसान छन् ।

भारत कमाउन जाने कर्णालीको पुरानै चलन हो । मौसमी कामदारका रुपमा भारतका लेह लद्दाख, सिम्लादेखि गोवासम्म गजुरातदेखि चेन्नाइसम्म गाउँसहर जताततै काम खोज्दै कर्णालीको श्रमशक्ति भारत पस्छ । 

तर पछिल्लो समयमा घरै रित्तो बनाएर जाने गरेका छन् । तन्नेरीदेखि ६० वर्षसम्मका मानिसमेत मजदुरीका लागि भारत गएका छन् । गाउँमा आयआर्जनको कुनै अवसर छैन । ठूला विकासे आयोजनाहरु ठेकेदारले लैजान्छन् । गाउँमा बेरोजगार बस्नुभन्दा कालापहाड जान बाध्य छन् । 

कर्णाली राजमार्गमा सञ्चालन हुने सवारीलाई कालापहाड जाने यात्रु बोक्न भ्याइनभ्याइ छ । गाउँमा यति बेला बुढापाका, महिला र बालबालिकाहरु छन् । काम खोज्दै पुरुषहरु सबै भारततिर गएकाले मेलापात अर्मपर्मदेखि विकास निर्माण र अन्य काम भ्याउन गाउँमा रहेका महिलालाई कठिन छ ।

कोही बिरामी पर्दासमेत स्वास्थ्य संस्थामा लैजाने मान्छे जुटाउन गाह्रो पर्छ । व्यवस्था परिवर्तन भए पनि कर्णालीको अवस्था नफेरिएको वास्तविकताको साक्षी कालापहाड पस्न बसर्पाकमा पुगेका युवाहरुको लर्को हो ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement