इलाम । लोपोन्मुख रेडपान्डाको संरक्षणका लागि इलामको सन्दकपुर-५ जौवारीमा जैविक मार्ग संरक्षण कार्य थालिएपछि त्यस क्षेत्रको वन हराभरा भएका छन् । रेडपान्डा आउजाउका लागि निजी जमिन खरिद गरी त्यसलाई सरकार मातहत ल्याएर हराभरा जंगल बनाइएको हो ।
रेडपान्डाको उचित वासस्थान र आवश्यक खाद्य परिकारको सहजताका लागि रेडपान्डामैत्री गतिविधि अघि बढाइएको हो । यस क्षेत्रमा डेढ लाख विरुवा रोपिएको छ। जिल्लाका विभिन्न लेकाली जंगल र ताप्लेजुङ लगायत क्षेत्रबाट पनि बिरुवा ल्याएर रोपिएको छ । रेडपान्डाको वासस्थान क्षेत्रमा चरिचरण तीव्र भएको र वनजंगल विनास भएसँगै वासस्थान मासिएको कारण संरक्षण थालिएको हो । प्रतिरोपनी २० देखि २२ हजार रुपैयाँ मूल्य तिरेर ५७० रोपनी जमिन खरिद गरेर वृक्षरोपण गरिएको छ ।
ठूलो क्षेत्रफलमा वृक्षारोपण गर्दै बिरुवा हुर्काउन मलजल गर्ने व्यवस्थाका कारण हराभरा बढ्दै गएकाले यस क्षेत्रको पर्यटनमा समेत सकारात्मक प्रभाव देखिन थालेको छ । नेपाल र भारतको सीमा क्षेत्रमा पर्ने यस ठाउँमा भारततर्फ सिंहलीला नेशनल पार्क रहेको छ । नेपालतर्फ पनि जंगल संरक्षणमा देखाइएको तदारुकताले समग्र जैविक विविधता रक्षामा फाइदा पुग्ने अपेक्षा छ ।
संरक्षित जमिनमा जंगली जनावार तथा अन्य घरपालुवा जनवार छिर्न नसक्ने गरी तारबार गरिएको छ । करिब २७ सय मिटर उचाइमा रहेको यो क्षेत्र रेडपान्डाको वासस्थानका लागि उपयुक्त मानिन्छ । खरिद गरिएको जमिनमा करिब तीन हजार मिटर क्षेत्रफलमा तारबार गरिएको छ । संस्थाले खरिद गरेको जमिनसँगै अन्य सरकारी जमिनमा पनि वृक्षारोपण गरेको छ । करिब ७ सय रोपनी जमिनमा वृक्षारोपण गरिएको हो ।
रेडपान्डाको आहाराको रूपमा रहेको वनस्पति मालिङ्गो, टेङ्गा, कुलिङ्गा, चिमाल, वाण्टे, भालुचिन्डे, गुँरास जस्ता वनस्पति त्यो क्षेत्रमा लगाइएको छ ।