विराटनगर । संघीय संसद्को सार्वजनिक लेखा सभापतिका ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २२ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकीलको कार्यालय मोरङले उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा मुद्दा दर्ता गराएको हो । सहकारी ऐन २०७४ को दफा १२२ अनुसार सहकारी वर्तमान अध्यक्ष शम्भुप्रसाद रौनियर, उपाध्यक्ष लक्ष्मण शाह, सहकारीका सचिव आलम अन्सारी मिया र कोषाध्यक्ष शम्भुप्रसाद सिंहविरुद्ध पनि मुद्दा दायर भएको हो ।
त्यस्तै सञ्चालक समितिका सदस्यहरू आमोद मण्डल, रोशन राजवंशी, जितमान ठाकुर, लेखा समिति संयोजक विजयकुमार यादव एवं सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोकुमार विश्वास विरुद्ध मुद्दा दायर भएको छ । लेखा सभापति पोखरेल पत्नी अन्जला पूर्वसञ्चालक हुनुहुन्छ ।
उहाँले २०६८ माघ ५ गते सञ्चालक पदबाट राजीनामा दिनुभएको हो । सहकारीमा सञ्चालकले ताला लगाएर फरार रहेका कारण प्रहरीले कात्तिक १४ गते सहकारीको ताला फोडेर कागजात जफत गरेको थियो ।
उमागौरी सहकारीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब १२ करोड रुपैयाँ ऋण लिएर अपचलन गरेको देखिएको छ । सहकारी सदस्यहरूको कागजपत्र बैंकमा धितो राखेर ऋण निकालेकाले उनीहरू सहकारी र बैंक दुवैको दोहोरो ऋणी बनेर मारमा परेका छन् ।