काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दिउँसो चितवन राइनोज र जनकपुर बोल्ट्स आमने सामने हुने छन् । आजको दोस्रो खेलको रूपमा दिउँसो १ बजेबाट यी दुई टोली भिड्ने छन् ।
जनकपुर एनपीएलमा प्लेअफमा स्थान सुरक्षित गरेको अहिलेसम्मको एक मात्र टोली हो । चितवनका लागि भने प्लेअफमा पुग्न यो खेल जित्नुको विकल्प छैन । दुवै टिम लिगको आफ्नो अन्तिम खेल खेल्दै छन् ।
तालिकाको चौथो स्थानमा रहेको चितवनको ६ खेलबाट ६ अंक छ । आज जनकपुरलाई पराजित गरे कुशल मल्लको टिमको प्लेअफ सम्भावना बलियो हुनेछ । हिजो भएको खेलमा खराब फिल्डिङका कारण चितवनले विराटनगरसँग ५१ रनको हार बेहोरेको थियो । प्रतियोगितामा उत्कृष्ट सुरूआत गरेको चितवनले मध्यतिर भने लय गुमायो । लगातार तेस्रो हार टारे चितवनले आठ अंक सहित लिग चरण टुंग्याउने छ ।
त्यसपछि अन्य टिमको नतिजा आफू अनुकूल आए प्लेअफमा स्थान सुरक्षित हुनेछ । दबाबमा रहेको चितवनको प्रदर्शन विदेशी खेलाडीमा बढी निर्भर देखिएको छ । ब्याटिङमा रवि बोपारा र बलिङमा सोहेल तन्विर चितवनका मुख्य हतियार हुन् । एनपीएलमा अघि बढ्ने हो भने चितवनका घरेलु खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नु पर्ने छ ।
जनकपुर भने क्वालिफायर पुग्न चाहन्छ । चितवनसँगको जितले अनिल साहको टिमलाई शीर्ष दुईमा स्थान पक्का गराउने छ । अहिले सम्म जनकपुरले मात्र एक खेल हारेको छ । ६ खेलबाट आठ अंक जोडेको जनकपुर तालिकाको शीर्ष स्थानमा छ । पुबुदु दशानायकेको टिम जनकपुरमा लाहिरु मिलान्था, अनिल साह, आसिफ शेख, जिम्मी निसम लगायतको ब्याटिङ लाइन अप छ ।