काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमान्डु गुर्खाजबीच प्रतिस्पर्धा हुँदै छ । प्लेअफको सम्भावना कायमै राख्न दुवै टिमका लागि यो खेल महत्त्वपूर्ण छ ।
त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट खेल सुरू हुनेछ । काठमान्डु पाँच खेलबाट ४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ । पोखरा पनि समान अंकका साथ सातौं स्थानमा छ ।
करण केसीको टिम काठमान्डुले आज जित हात पारे शीर्ष चारमा पुग्ने सम्भावना कायमै रहनेछ । हारले भने अगाडिको यात्रा कठिन बन्नेछ ।
काठमान्डुले यसअघिको खेलमा जनकपुर बोल्टससँग पाँच विकेटको हार बेहोरेको थियो । ब्याटिङ चल्न नसक्दा काठमान्डु १०१ रनमा अल आउट भएको थियो । वसन्त शाहीको प्रशिक्षणमा रहेको काठमान्डुका विदेशी ब्याटरबाट रन नबन्नु चिन्ताको विषय बनेको छ । स्टेफन स्किनाजी, माइकल लेभिट, डान डौथवेट लामो समय क्रिजमा टिक्न सकेका छैनन् । जेरार्ड इरास्मसले भने बलिङ र ब्याटिङ दुवैमा सन्तोषजनक योगदान गरिरहेका छन् । भीम सार्की, करण केसीबाट पनि अपेक्षा अनुसारको प्रदर्शन आउन सकेको छैन ।
यता कुशल भुर्तेलको टिम पोखरा पनि गर या मरको स्थितिमा छ । काठमान्डु विरुद्धको आजको जितले भने पोखराको शीर्ष चारको आशालाई जीवितै राख्नेछ । अघिल्लो खेलमा विराटनगर किंग्ससँग सुपर ओभरमा जित हात पार्दा रेमन रेइफरले पोखराका लागि अल राउन्ड प्रदर्शन गरेका थिए । भुर्तेलका लागि यो खेल फर्ममा फर्कने अवसर पनि हो । उनले जारी एनपीएलमा राम्रो खेल्न सकिरहेका छैनन् । एन्ड्रियस गस, दिनेश खरेल बाट उत्कृष्ट सुरूआतको अपेक्षा गरेको पोखराको मिडिल अर्डरमा पनि सुधार आवश्यक छ ।