काठमाडौं । फ्रान्समा जारी राजनीतिक उथलपुथलका बीच राष्ट्रपति इमानुएल म्याक्रोंले मध्यमार्गी नेता फ्रान्कोइस बायरुलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ ।
राष्ट्रपति म्याक्रोंले सन् २०२४ मा चौथो पटक प्रधानमन्त्री फेरबदल गर्नु भएको हो । ७३ वर्षीय बायरु लामो समयसम्म दक्षिण पश्चिम राज्य पाउको मेयर हुनु हुन्थ्यो । हाल उहाँले फ्रान्सको मोडेम पार्टीको नेतृत्व गरिरहनु भएको छ । फ्रान्सको संसद्मा कुनै दलको स्पष्ट बहुमत नभएकाले नयाँ प्रधानमन्त्रीलाई पूर्वप्रधानमन्त्रीले जस्तै चुनौतीको सामना गर्नु पर्ने स्थिति यथावत् छ।
नवनियुक्त प्रधानमन्त्रीसामु सन् २०२४ को बजेटलाई अघि बढाउन संसद्बाट विशेष कानुन पारित गर्नुका साथै सन् २०२५ को बजेट विधेयक प्रस्तुत गर्नु पनि चुनौती छ। उहाँले केही दिनमै आफ्नो क्याबिनेटको सूची पेश गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति म्याक्रोंले आगामी वर्षको ग्रीष्मयाममा संसदीय निर्वाचन गर्ने घोषणा गरे यता फ्रान्समा राजनीति तरल बनेको छ ।
अविश्वासको प्रस्तावलाई अगामी वर्षको जुलाईसम्मका लागि सार्नु पर्ने समेत नयाँ प्रधानमन्त्रीको मुख्य चुनौती रहेको बताइएको छ । त्यसअघि नै बायरुको सरकार ढलेमा राष्ट्रपति म्याक्रोंको भविष्यमाथि पनि प्रश्न खडा हुनेछ ।
फ्रान्समा बिहीबार गरिएको एक जनमत सर्वेक्षणले पनि ६१ प्रतिशत फ्रान्सेली मतदाता देशको राजनीतिक अस्थिरताप्रति चिन्तित रहेको देखिएको छ। यसअघिका प्रधानमन्त्री मिशेल बार्नियारले संसद्को मतदान विनै समाजिक सुरक्षा बजेट पारित गर्न खोजेपछि विपक्षी दलको अविश्वास प्रस्तावबाट तीन महिनामै पद छाड्नु परेको थियो ।