काठमाडौं । पहिलो संस्करणको काभा मेन्स भलिबल क्लब च्याम्पियनशिपको उपाधिका लागि आज हेल्प नेपाल र क्यालिकट हिरोजबीच प्रतिस्पर्धा हुँदै छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल दिउँसो साढे तीन बजेपछि सुरू हुनेछ ।
हेल्प नेपालले सेमिफाइनलमा माल्दिभ्सको क्लब एचडीसीलाई सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगितामा प्रशिक्षक उत्सव खड्काको टिमले अहिलेसम्म मात्र एक खेलमा हार बेहोरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा हेल्प नेपाल इरानको अन्डर एटिनसँग पराजित भएको थियो ।
प्रशिक्षक खड्काले उपाधि जित्नेमा आफू विश्वस्त रहेको बताएका छन् । रविन चन्दले बलियो क्यालिकट विरुद्ध ब्लकमा गल्ती नगरे जित सुनिश्चत भएको प्रतिक्रिया दिए । भारतको प्रो लिग विजेता क्यालिकटले सेमिफाइनलमा इरानलाई चार सेटमा हराएको थियो । पहिलो सेट गुमाए पनि उसले उत्कृष्ट पुनरागमन गरेको थियो ।
नेपाल र क्यालिकट प्रतियोगिताको पहिलो खेलमा आमने सामने भएका थिए । जसमा हेल्प नेपालले पाँच सेटको रोमाञ्चक जित हात पारेको थियो । प्रधानमन्त्री कपको विजेता हेल्प नेपाल लिग चरणकै नतिजा दोहोर्याउने लक्ष्यमा छ ।
क्यालिकटका लागि भने सो हारको बदला फाइनलमा लिने अवसर छ । आजै तेस्रो स्थानका लागि एचडीसी र इरानबीच पनि खेल हुनेछ । यो खेल दिउँसो सवा एक बजेपछि सुरू हुनेछ ।