काभ्रे । असोज दोस्रो साताको बाढीपहिरोले सबैभन्दा धेरै क्षति भएको जिल्ला हो-काभ्रे । त्यहाँ ७८ जनाले ज्यान गुमाए भने बेपत्ता ६ जनालाई पनि मृतक सहर मानेर राज्यबाट क्षतिपूर्ति दिलाउन जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्णय भइसकेको छ । मृतकमध्ये ७ जना बालबालिका हुन् । काभ्रेका २ सय ३२ वटा विद्यालय भवनमा क्षति पुगेको छ । धेरै क्षति भएका विद्यालय पुनर्निर्माणको पखाईमा छन् । तर अझै पनि कति विद्यालयमा पुननिर्माणको आवश्यकता छ भन्ने यकिन भइसकेको छैन ।
असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेका १३ स्थानीय तहका २ सय ३२ सामुदायिक विद्यालयको भैतिक संरचनामा क्षति पुगेको छ । अस्थायी अवास नबन्दा बाढीपहिरोपीडितहरुले विद्यालयमै आश्रय लिइरहेकाले केहीमा पठनपाठन प्रभावित छ ।
धुलिखेल नगरपालिका १२ पिप्लेका टीकाराम तामाङका दाजुभाइसहित ३ परिवार पहिरोले घर पुरिएपछि नजिकैको आधारभूत विद्यालयमा आश्रय लिइरहका छन् । तर सरकारले धुलिखेल नगरपालिकालाई विपद् संकटग्रस्त सूचीमा नराखिदिएकाले यी विस्थापितहरुले सामान्य राहतबाहेक अरु केही पाउन सकेका छैनन् ।
धुलिखेल १२ का २ वटा विद्यालयमा १२ घरधुरी पहिरो प्रभावित बस्दै आएका छन् । जिल्ला शिक्षा समन्वय इकाइ काभ्रेका अनुसार क्षति पुगेका मध्ये धेरै विधालयको पुनर्निर्माण नै गर्नुपर्ने प्राविधिक मूल्याङ्गकन गरिएको छ ।
खानीखोला गाउँपालिकामा ८, पनौती नगरपालिकामा १९, पाँचखाल नगरपालिकामा १३, रोशी गाउँपालिकामा सबैभन्दा धेरै ४८, बेथानचोक गाउँपालिकामा २६, भुम्लु गाउँपालिकामा १८, तेमाल गाउँपालिकामा ७, धुलिखेल नगरपालिकामा २९, चौरीदेउराली गाउँपालिकामा २९, बनेपा नगरपालिकामा ४, मण्डनदेउपुर नगरपालिकामा ११, नमोबुद्ध नगरपालिकामा १४, महाभारत गाउँपालिकामा ७ वटा विद्यालयमा क्षति पुगेको छ ।
काभ्रेका १८ वटा विद्यालयले अस्थायी बाल शिक्षण सिकाइ केन्द्र- टीएलसीको आवश्यता रहेको भनी शिक्षा समन्वय इकाइमा पत्राचार गरेकोमा १३ वटा विद्यालयमा टीएलसी बनाउन यही मंसिर ७ गते प्रदेश सरकारसँग सम्झौता भएको छ ।
बाढीपहिरोबाट क्षति पुगेको ३ महिना बित्दासम्म पनि बालबालिकाले निधक्क भइ पढ्ने वातावरण पाएका छैनन् । शिक्षाजस्तो संवेदनशील क्षेत्रमा भएको क्षतिको समयमै पुनर्निर्माणमा ध्यान दिन सके नागरिकको शिक्षा पाउने अधिकार सुनिश्चित हुने थियो ।