बाँके । पश्चिम तराईको बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जका जंगल, कर्णाली र बबई नदी तटसँगै ठूला तलाउहरू आगन्तुक तथा दुर्लभ पन्छी विचरण गर्ने प्राकृतिक वासस्थान हुन् । तर क्रमिकरूपमा जीवहरूको जीवनचक्रमा असर पर्ने गरी जैविक विविधता खलबलिँदै गएपछि धेरैजसो पन्छी ती क्षेत्रमा देखिनै छाडेका छन् । चराविज्ञहरू पहिलेको तुलनामा पन्छीको चिरबिर कम सुनिन थालेपछि चिन्तित देखिएका छन् ।
दुई सयभन्दा बढी चराको आवाज सुनेर कुन प्रजातिका हुन्? छुट्याउन सक्ने चराविज्ञ जितबहादुर खत्री पन्छीहरूले वासस्थान छाड्दै गएकामा चिन्तित हुनु हुन्छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट सेवानिवृत्त भएपछि जंगल छेउमै होटल व्यवसाय गरेर बस्दै आउनु भएका खत्रीले मानिसले झैं सुसेली हाल्ने चराको आवाज सुन्न छाडेको धेरै वर्ष भयो । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका वनजंगल अनि नदी तटमा विचरण गर्ने पन्छी लोप हुँदै गएको थाहा पाउँदा यहाँ आउने आगन्तुक समेत खिन्न देखिन्छन् ।
बर्दिया निकुञ्जले रैथाने र बसाइँ सरी आउने गरी ४३८ थरीका पन्छी निकुञ्ज क्षेत्रमा भएको दाबी गर्दै आएको छ । तर कति लोप भए, कति निकुञ्जको जंगलमा देखिन छाडे त्यसको कुनै अभिलेख निकुञ्जसँग छैन । बाँके निकुञ्जको अवस्था पनि उस्तै छ । तीन सय प्रजातिको चरा पाइने दाबी गर्ने बाँके राष्ट्रिय निकुञ्जले अहिलेसम्म पन्छी गणना नभएकाले कुन प्रजातिका पन्छी कति छन्, यकिन नभएको जनाएको छ । यस्तो अवस्था देखिएपछि अहिले आगन्तुक पन्छी आउने मौसमभित्र गणना गर्ने तयारी भइरहेको छ ।
पश्चिमका ठूला निकुञ्जमा सरकारको मात्र हैन विश्व वन्यजन्तु कोष लगायत विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले समेत वातावरण र वन्यजन्तु संरक्षणका नाममा लगानी गर्दै आएका छन् । तर पहिले देखिने पन्छी अहिले देखिन छाडेपछि लगानी औचित्यमाथि प्रश्न उठेको छ । पर्यापर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि बाँके र बर्दिया निकुञ्जका जंगलसँगै ठूला तालहरूमा समेत पाहुना चरा घट्दै गएका छन् ।