साङ्लोमा जकडिएको मानव अधिकार !

मंसिर २५, २०८१ |हरिश्चन्द्र बाग
साङ्लोमा जकडिएको मानव अधिकार !

कञ्चनपुर । मानसिक स्वास्थ्य समस्याबाट जो कोही पीडित हुनसक्छ । तर हाम्रो समाजले यसलाई हेर्ने दृष्टिकोण फरक भएकाले मानसिक स्वास्थ्य समस्या भएका मानिसको उचित हेरचाह र स्वास्थ्य उपचारमा भने समस्या छ । कञ्चनपुरको बेलडाँडीका किरण सुनार र रङ्गनाथ दमाईले भोग्नुपरेको कहालीलाग्दो अवस्थाले यसै कुरालाई पुष्टि गर्छ ।

पशुसरह यसरी साङ्लोमा बााधिएकी महिला किरण सुनार हुनुहुन्छ । अन्दाजी २५ वर्षीया किरणका दुई सन्तान छन् । मानसिक सन्तुलन ठीक नभएको भन्दै केही वर्षअघि किरणलाई छोडेर श्रीमानले अर्को विवाह गरे । त्यसपछि किरणलाई माइतीघर बेलडाँडी गाउँपालिका १ मा ल्याइयो । 

त्यसपछि किरणको अवस्था झन् बिग्रदै गयो । किरणले गर्ने गतिविधिमाथि गाउँलेले गुनासो गर्न थाले । जसकारण आफ्नै छोरीलाई साङ्लोले बाँधेर राख्नु पर्ने बाध्यता आइलागेको आमा शान्ति सुनारको दुखेसो छ । 

शान्ति एकल महिला हुनुहुन्छ । घर चलाउन उहाँलाई ज्याला मजदुर नगरी हुदैन । यस्तो अवस्थामा चौबिसै घण्टा छोरीको हेरचाह गर्न गाह्रो हुने उहाँ बताउनुहुन्छ ।

यो रङ्गनाथ दमाईको घर हो । बेलडाँडी गाउँपालिका २ चन्दनबस्तीका अन्दाजी ४५ वर्षीय रङ्गनाथलाई अध्यारो कोठामा थुनिएको छ । खेतीकिसानी गर्दै गुजारा गर्ने रङ्गनाथ एक दशकयता मानसिक रोगसँग लडिरहनुभएको छ । मानसिक स्वाथ्य समस्या देखिएपछि औषधी उपचार गर्न गरिबी र चेतनाअभाव बाधक बन्यो । पछिल्लो तीन वर्षदेखि रंगनाथलाई यही अँध्यारो कोठामा बन्धक बनाइएको छ । रङ्गनाथका आँखाले 'उपचार गरे म ठीक हुनसक्छु ।' भनेझै लाग्छ तर उहाँको मुख खुल्दैन । 

किरण र रङ्गनाथजस्ता मानिसहरूको जीवन मानसिक रोगले मात्र नभई समाजको अवहेलना, आर्थिक अभाव र अशिक्षाले थप जटिल बनेको छ । किरण र रङ्गनाथहरू अझै पनि जीवनमा उज्यालोको प्रतीक्षामा छन् ।  


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement