काठमाडौं । रियल मड्रिडले साल्जबर्गलाई पराजित गर्दै च्याम्पियन्स लिगको नकआउट प्लेअफमा स्थान सुरक्षित गरेको छ । स्पेनिस टोली रियलले अस्ट्रियाको साल्जबर्गलाई ५-१ गोलको विशाल अन्तरले पराजित गर्दै लिग चरणको शीर्ष-२४ मा स्थान सुरक्षित गरेको हो ।
यस जितले रियलको शीर्ष आठमा पुग्ने सम्भावना न्यून भए पनि अन्तिम-१६ मा स्थान सुरक्षित गर्ने झिनो आशा जिवित भएको छ । प्रतियोगिताको सुरूआतमा बेहोरेको लगातार हारले रियलका लागि उपाधि रक्षा अभियान कठिन बनेको हो । अब शीर्ष-२४ मा नकआउट खेलको सामना गर्नु पर्ने भए पनि यस नतिजाले रियललाई सामान्य राहत भने मिलेको छ ।
सान्टियागो बर्नाबेउमा रोड्रिगोले पहिलो हाफको दुई गोल गरेपछि युरोपेली च्याम्पियन रियालले खेललाई पूर्णरूपमा आफ्नो नियन्त्रणमा राखेको थियो । दोस्रो हाफको सुरूआतमै केलियन एमबाप्पेले साल्जबर्गका गोलकिपर जेनिस ब्लासविचको गल्तीको फाइदा उठाउँदै तेस्रो गोल गरे । भिनिसियस जुनियरले ५५ औं र ७७ औं मिनेटमा ब्रेस पूरा गरेपछि रियलले ५-० को अग्रता बनाएको थियो ।
यससँगै भिनिसियसले रियलका लागि सबै प्रतियोगितामा १०१ गोल पूरा गरे । ८५ औं मिनेटमा म्याड्स बिडस्ट्रपले साल्जबर्गका लागि एक गोल फर्काए पनि त्यसले खेलको नतिजामा कुनै प्रभाव पार्न सकेन ।
जितसँगै रियलले ७ खेलमा ४ जित सहित १२ अंक जोडेको छ । ऊ तालिकाको १६ औं स्थानमा उक्लिएको छ । समान खेलमा ३ अंक जोडेको साल्जबर्ग पुछारबाट तेस्रो स्थानमा छ ।