काठमाडौं । अवैध आप्रवासीमाथि कडा कारबाही गर्ने नवनियुक्त अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको नीति अनुसार अमेरिकी सेनाले आफ्ना थप १५ सय सैनिक मेक्सिकोसँगको दक्षिणी सीमामा पठाउन थालेको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् ।
सोमबार शपथ लिएको केही घण्टापछि नै ट्रम्पले दक्षिणी सीमामा राष्ट्रिय आपत्काल घोषणा गर्नुभएको थियो । सोही घोषणा अनुरूप कार्यवाहक रक्षामन्त्रीले दक्षिणी सीमामा १५ सय सैनिक खटाउन आदेश दिनुभएको सीएनएनले जनाएको छ । जस अनुसार १ हजार स्थल सैनिक र ५ सय जल सैनिक परिचालन गरिनेछ ।
दक्षिणी सीमामा यसअघि नै ‘ज्वाइन्ट टास्क फोर्स-नर्थ’ अन्तर्गत करिब २२ सय सक्रिय सेना कार्यरत रहेको जनाइएको छ । सेनाको कुन विशेष बललाई त्यहाँ परिचालन गर्न लागिएको हो भन्ने कुरा भने अझै स्पष्ट नभएको बताइएको छ ।
यसैबीच अमेरिका आउन अनुमति पाएका शरणार्थीहरूको अमेरिका प्रवेश तत्कालका लागि रोकिएको र उनीहरूको उडान रद्द गरिएको जनाइएको छ । ट्रम्पको कार्यकारी आदेशको सन्दर्भ उल्लेख गर्दै अमेरिकी विदेश मन्त्रालयले पुनःस्थापन कार्यक्रमका साझेदारहरूलाई यस सम्बन्धमा जानकारी गराएको हो । शपथ लिएकै दिन दर्जनौं कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएका ट्रम्पले अमेरिकी शरणार्थी ग्रहण कार्यक्रम स्थगन गर्ने सम्बन्धी कार्यकारी आदेश समेत जारी गर्नुभएको थियो । विदेश मन्त्रालयले पठाएको मेमोमा शरणार्थीहरूको पूर्व निर्धारित सबै यात्रा रद्द गरिएको र नयाँ यात्राको बुकिंङ पनि नगरिने उल्लेख गरिएको छ ।
यसले करिब १० हजार शरणार्थीको अमेरिकाको पूर्व निर्धारित यात्रा रद्द भएको जनाइएको छ । ती शरणार्थीहरू कुन कुन देशबाट अमेरिका पुग्न लागेका थिए भन्ने बारे तत्काल जानकारी नभएपनि उनीहरू अफगानिस्तान, कंगो, भेनेजुएला, सिरिया र म्यानमार लगायतका देशको रहेको बताइएको छ ।
विदेश मन्त्रालयको मेमोमा शरणार्थीको नयाँ प्रक्रिया स्थगन गरिएको कुरा समेत उल्लेख गरिएको छ ।
विशेष आप्रवासन भिसा भएकाहरू भने यो आदेशबाट प्रभावित नहुने र उनीहरू अमेरिका भित्रिन सक्ने उक्त मेमोमा उल्लेख गरिएको छ । अमेरिकी सेनालाई सहयोग गरेकाहरूलाई यस्तो विशेष भिसा दिइएको बताइएको छ । अमेरिकामा रहँदै आएका शरणार्थीले भने निरन्तर सेवा पाइराख्ने छन् ।