बारा । अवैध रूपमा हेटौंडातर्फ लैजाँदै गरेको ६० किलो चाँदी सहित जिल्ला प्रहरी कार्यालय बाराले एक जनालाई पक्राउ गरेको छ । स्कुटरको खुट्टा राख्ने ठाउँमा फल्स बटम बनाई वीरगन्जबाट हेटौंडातर्फ लुकाई छिपाई लगिरहेको अवस्थामा प्रहरीले ६० किलो चाँदी सहित कलैया उपमहानगरपालिका-५ घुसुकपुर बस्ने कर्म साह सोनारलाई पक्राउ गरेको हो ।
शनिबार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगन्जका प्रमुख टेकबहादुर कार्कीको कमान्डमा खटेको टोलीले वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको बागमती प्रदेश-०३–००५प ३२६ नम्बरको स्कुटर अमलेखगन्ज चोकमा चेकजाँच गर्ने क्रममा चाँदी सहित सोनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
अवैध चाँदी सहित पक्राउ परेका सोनारलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेको चाँदीको बजार मूल्य एक करोड दुई लाख रहेको प्रहरीले जनाएको छ ।