काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नेदरल्याण्ड प्रस्थान गर्नुभएको छ ।
शनिबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै परराष्ट्रमन्त्री राणा नेदरल्याण्डको हेग प्रस्थान गर्नुभएको हो । इन्टरनेशनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालको तर्फबाट सहमभागिता जनाउनु हुनेछ । नेदरल्याण्डको हेगमा रहेको उक्त अन्तर्राष्ट्रिय न्यायालयमा गत सोमवार (डिसेम्बर २) देखि सुनुवाइ जारी छ ।
जलवायु परिवर्तनमा राज्यको भुमिका के हुने भन्ने विषयमा विश्वका सय देश र १२ विभिन्न अन्तर्राष्ट्रिय निकायले सुनुवाइमा भाग लिँदैछन् । परराष्ट्रमन्त्री देउवाले डिसेम्बर ९ अर्थात सोमबार दिनको साढे ३ देखि ४ बजे (हेगको समय) सम्म अदालतसमक्ष नेपालको मौखिक धारणा राख्नुहुनेछ । हेग प्रस्थान गर्नुपूर्व न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले जलवायु परिवर्तनका कारण नेपाल जस्ता देशहरुले भोगिरहेको समस्याका बारेमा आवाज उठाउने बताउनु भयो । उहाँले जलवायु परिवर्तनका कारण नेपाल लगायतका देशलाई परेको समस्याहरुमा पीडित देशहरुले हालेको मुद्दामा सुनुवाई भइरहेको बताउनु भयो । सुनुवाइमा नेपालको हिमाल पग्लिरहेको विषय विशेष रुपमा उठाउने बताउनुभयो ।
जलवायु परिवर्तनका लागि जिम्मेवार विकसित राष्ट्रले जलवायु संकट समाधानमा पनि उत्तिकै जिम्मेवारी लिनुपर्ने, जलवायु न्यायको सिद्धान्त स्थापित हुनुपर्ने र जलवायु परिवर्तनबाट प्रभावितहरूप्रति राज्यको दायित्व हुनुपर्नेमा जोड दिने नेपालको तयारी छ । परराष्ट्रमन्त्री देउवाको नेतृत्वमा हेग पाँच सदस्य हुनुहुन्छ ।
जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न राज्यको दायित्व के हुने, जलवायु परिवर्तन न्यायिक तथा मानवअधिकारको विषय हुने÷नहुने भनेर गत वर्षको अप्रिलमा सम्पन्न संयुक्त राष्ट्रसंघको ७८ औं महासभाले उक्त न्यायालयको परामर्श लिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार न्यायालयले महासभालाई अर्को वर्ष आफ्नो राय दिनुअघि यो सुनुवाइ गर्न लागेको हो ।