घाँस काट्न हिँडेकी युवतीको जंगलमा गाडिएको अवस्थामा शव फेला

मंसिर २२, २०८१ |भीमलाल श्रेष्ठ
घाँस काट्न हिँडेकी युवतीको जंगलमा गाडिएको अवस्थामा शव फेला

गोरखा । गोरखा बारपाककी १८ वर्षीया सुचिना घलेको हत्या भएको छ । यही मंसिर १५ गते घाँस काट्न गएकी बारपाक सुलिकोट गाउँपालिका-१ बारपाककी सुचिना घर नफर्किएपछि खोजी गर्ने क्रममा तीन दिनपछि मंसिर १८ गते घरदेखि तीन किलोमिटर पर बारपाककै मैखर्क जंगलमा डोको सहित खाल्डोमा गाडिएको अवस्थामा उनको शव भेटिएको थियो ।

सुचिनाको टाउकोमा धारिलो हतियारले हानेको चोट हुनुका साथै हातको दुई वटा औंला काटिएको अवस्थामा भेटिएको गाउँले बताउँछन् । हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म शव नबुझ्ने सुचिनाको माइतीपक्षको अडान छ ।

शव र घटनास्थलको प्रकृतिको आधारमा सुचिनाको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ। सुचिनालाई न्याय दिन सबै पक्ष लाग्नुपर्ने घटनास्थल पुगेर फर्किनु भएका सुचिनाको माइती रहेको धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ बताउनु हुन्छ ।

मंसिर १९ गते मृतकका श्रीमान् धनबहादुर गुरुङले प्रहरीमा जाहेरी दिनु भएको छ । अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक नेतृत्वको टोली नै घटनास्थलमा खटिएको छ । घटना गम्भीर प्रकृतिको भएकोले त्रिवि शिक्षण अस्पताल काठमाडौंमा शवको पोस्टमोर्टम गरिएको र रिपोर्ट आउन केही दिन लाग्ने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बारपाक सुलिकोट गाउँपालिकाले हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको छ । धार्चे गाउँपालिका वडा नम्बर ६ काशीगाउँकी सुचिना घलेको गत वैशाखमा बारपाक सुलिकोट गाउँपालिका वडा नं १ का धनबहादुर गुरुङसँग विवाह भएको थियो ।

सुचिनाको घरमा श्रीमान्‌का सात दाजुभाइ छन् । एक्लै घाँस काट्न हिँडेकी सुचिनाको शव भेटिएको ठाउँ नजिकै अर्को डोको र टोपी भेटिएकाले त्यही नै अपराधीसम्म पुग्ने प्रमाण हुन्छ भन्ने विश्वासका साथ प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement