आज विवाह पञ्चमी, जनकपुरमा धुमधामका साथ मनाइँदै

मंसिर २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
आज विवाह पञ्चमी, जनकपुरमा धुमधामका साथ मनाइँदै

धनुषा । आज मार्गशीर्ष शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमीको मुख्य दिन । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज धुमधामका साथ विवाह पञ्चमी मनाइँदै छ ।

त्रेतायुगमा राम-जानकीबीच भएको विवाहको सम्झनास्वरूप जनकपुरधाममा साताव्यापी कार्यक्रम भइरहेको छ । मिथिला संस्कृतिको महत्त्वपूर्ण पर्व राम-जानकी विवाह पञ्चमीको अवसरमा जनकपुरधाम लगायत आसपासका क्षेत्रमा मगंल गीत गुन्जने गरेको छ ।

त्रेतायुगमा मंसिर शुक्लपक्षको पञ्चमी तिथिमा अयोध्याका राजा दशरथका पुत्र रामको मिथिला नरेश जनककी पुत्री जानकीसँग भएको वैवाहिक समारोहको सम्झनामा हिन्दू धर्मावलम्बीहरूले हर्षोल्लासका साथ साताव्यापी रूपमा विवाह पञ्चमी पर्व मनाउँछन् । विवाह पञ्चमीमा दुई लाखभन्दा बढी दर्शनार्थी जनकपुरधाम आउने अनुमान छ ।

तीर्थयात्रुको सुविधाका लागि विभिन्न स्थानमा गाडी पार्किङको व्यवस्था मिलाउनुका साथै तीन दिनसम्म अतिरिक्त सेवा सञ्चालन गरिएको छ । नेपाल र भारतका विभिन्न स्थानबाट तीर्थालुहरू मेला भर्न जनकपुरधाम आएका छन् ।

महोत्सवलाई मर्यादित बनाउन र कुनै अप्रिय घटना हुन नदिन १४ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । हिजोदेखि भोलि शनिबारसम्म भने जनकपुरधामको परिक्रमा क्षेत्रभित्र स्थानीय प्रशासनले माछा, मासु र मदिरा बिक्रीमा रोक लगाएको छ । ६ दिनको धार्मिक अनुष्ठानपछि शनिबार रामकलेवा अर्थात भोजनपछि वस्त्र र दक्षिणा दिएर जन्ती बिदाइपछि साताव्यापी विवाह पञ्चमी महोत्सव समापन हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement