रामेछाप । जीप दुर्घटनामा वडा अध्यक्षको निधन भएपछि रामेछापको गोकुलगंगा गाउँपालिकाले आइतबार शोक बिदा दिएको छ । गाउँपालिकाले शोक पत्र जारी गर्दै गाउँपालिका सहित पालिकाभरका सबै कार्यालयहरूमा आकस्मिक सेवा बाहेक बिदा दिएको जानकारी गराएको हो ।
शुक्रबार काठमाडौंबाट गोकुलगंगा गाउँपालिका–४ बेतालीतर्फ जाँदै गरेको त्रिवेणी यातायातको ना१ज ७१२३ नम्बरको जीप सोही गाउँपालिकाको वडा नं ६ सिमलडाँडा भीरमा दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका–४ बेतालीका वडा अध्यक्ष रामचन्द्र बस्नेत सहित पाँच जनाको ज्यान गएको थियो ।
दुर्घटनामा गोकुलगंगा गाउँपालिका–५ कि ३० वर्षीया कविता कार्की (खड्का), कविताकी छोरी सात वर्षीया स्वस्तिका, गोकुलगङ्गा–४ कै साविना विक र मन्थली नगरपालिका–९ पुरानागाउँका हिराबहादुर कार्कीको ज्यान गएको थियो । दुर्घटनामा परी गोकुलगंगा–४ बेतालीकी सरस्वती कार्की र मृतक सविनाका छोरा चार वर्षीय सवीन विक र कास्कीको लेखनाथ नगरपालिकाका केश बर्मा घाइते भएका थिए ।