कोशी प्रदेशका तीन जिल्लामा यात्रुवाहक सवारीका लागि टाइम कार्ड

मंसिर १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोशी प्रदेशका तीन जिल्लामा यात्रुवाहक सवारीका लागि टाइम कार्ड

विराटनगर । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि कोशी प्रदेशका तीन जिल्लामा यात्रुवाहक सवारी साधनका लागि टाइमकार्ड लागु गरिएको छ ।

मोरङको सुन्दरहरैचा ७ स्थित गछिया चोकमा एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक डीआईजी चन्द्रकुबेर खापुङले टाइम कार्डको सुरुवात गर्नुभयो । पहिलो चरणमा पूर्वपश्चिम राजमार्गको काँकरभिट्टादेखि कोशी ब्यारेज र कोशी राजमार्गको विराटनगरदेखि धरानसम्म रुटमा चल्ने यात्रुबाहक सवारीसाधनलाई लक्षित गरी झापा, मोरङ र सुनसरीमा टाइमकार्ड लागु गरिएको हो ।

टाइमकार्ड अनुसार विराटनगर बसपार्कदेखि इटहरी बसपार्कसम्मको २४ किलोमिटर दुरीका लागि ४५ मिनेटको समय अवधि तोकिएको छ भने इटहरीदेखि धरानसम्म २० किलोमिटर दुरीका लागि ३८ मिनेटको समय अवधि तोकिएको छ ।

काँकरभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दुरीका लागि ३० मिनेट समय निर्धारण गरिएको छ । कोशी प्रदेशमा दैनिक दुईदेखि तीन जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ । पछिल्लो १५ दिनको अवधिमा मात्रै कोशी प्रदेशमा भएको सवारी दुर्घटनामा २५ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement