काठमाडौं । नेपालमा अहिले सक्रिय अर्थात काम गरेर खान सक्ने जनसंख्या ६२ प्रतिशत छ । तर जनसंख्या वृद्धिदर घट्दै गएको अवस्थामा अहिले नै जानसांख्यिक लाभ लिन चुक्न नहुने सरोकारवालाहरूले बताएका छन् । काठमाडौंमा सुरू भएको एसियन पपुलेशन एसोशिएशनको छैटौं सम्मेलनमा सहभागी भएकाहरूले कुनै पनि देशले आफ्नो सक्रिय जनसंख्याको बाहुल्यता भएका वेला आर्थिक तथा भौतिक विकास गर्न सक्नुपर्ने बताए ।
उनीहरूले अहिले नेपालले पनि जानसांख्यिक लाभ लिन चुक्न नहुने बताए । नेपालको जनसंख्या वृद्धिदर घटेर ०.९२ प्रतिशतमा सीमित भएकाले अबको ५० वर्षभित्र जसरी पनि यसको लाभ लिइसक्नुपर्ने जानकारहरूको भनाइ छ ।
अहिले नेपालमा काम गर्न सक्ने अर्थात् १५ देखि ६४ वर्ष उमेर समूहको जनसंख्या ६२ प्रतिशत छ । ६५ वर्षभन्दा माथिका १० प्रतिशत र १४ वर्षमुनिको जनसंख्या २८ प्रतिशत छ । अन्तर्राष्ट्रिय बसाइँसराइका कारण पनि जनसांख्यिक संरचनामा परिवर्तन आइरहेकाले यो वेला सरकारले सक्रिय जनसंख्याको राम्रो लाभ लिन सक्नुपर्ने विज्ञ बताउँछन् ।
एसियाली मुलुकका प्रतिनिधिहरू सम्मिलित सम्मेलन चार दिनसम्म चल्ने छ ।