काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीमा पैसा नहुने तर बाँकी बक्यौता दायित्व खर्बौं भएकाले देश जटिल अवस्था रहेको बताउनु भएको छ । २१औं राष्ट्रिय ज्यापू दिवस समारोहको निम्ता दिन बालुवाटार पुगेका ज्यापू समुदायका अगुवा समक्ष प्रधानमन्त्री ओलीले देशको आर्थिक अवस्था जटिल रहेको बताउनु भएको हो ।
यस्तो अवस्थामा पनि ज्यापू संस्कृति विकासका लागि माग गरेको १० करौड रुपैयाँ अक्षयकोषको बजेट निकासाका लागि सक्दो सहयोग गर्ने उहाँले वचन दिनु भयो । प्रधानमन्त्री ओलीले ज्यापू समुदायको परम्परागत संस्कृति र चाडपर्वको जर्गेना गर्नुपर्नेमा पनि जोड दिनु भयो ।
ज्यापू दिवस यही मंसिर ३० गते मनाइँदै छ । उक्त दिवस सांस्कृतिक उत्सवका रूपमा मनाउन ६१ टोलका ज्यापू समुदायका अगुवाहरू परम्परागत बाजागाजा सहित कोसेली सुपारी सहित प्रधानमन्त्रीलाई प्रमुख अतिथिको निम्ता दिन बालुवाटार पुगेका थिए ।
ज्यापू संस्कृति विकास कोषले २०६१ सालदेखि योमरी पुन्हिका दिन ज्यापू दिवस मनाउदै आएको छ ।