काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताउनु भएको छ । बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताउनु भएको हो ।
उहाँले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरू अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताउनु भयो । उहाँले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गर्नु भयो । उहाँले धितोपत्र बोर्डमा ठूलो जिम्मेवारी र चुनौतीहरू रहेको पनि उल्लेख गर्नु भयो । उहाँले पूँजीबजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसावले प्राथमिकतामा राखेर पूँजीबजार विकासको काम गर्ने बताउनु भयो । “नयाँ स्टक एक्सचेन्जको सवालमा म स्पष्ट छु । नेपाल सरकारको नीति निर्देशन जे हुन्छ । त्यही अनुसार अगाडि बढ्ने हो । धेरै विषयहरू अगाडि बढेको स्थिति छ । सरकारले गठन गरेको समितिले सुझाव बुझाएको अवस्था छ । अब सरकारको के निर्देशन आउँछ । त्यही अनुरुप अगाडि बढ्ने हो”, उहाँले भन्नु भयो ।
उहाँले बोर्डमा नेतृत्वको अभावमा अड्किएका कामहरू अगाडि बढाउने बताउनु भयो । अध्यक्ष श्रेष्ठले पूँजीबजारको भूमिका र दायरा बढाउँदै लैजानु पर्ने बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा शेयर लगानीकर्ताहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भयो । पूँजीबजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै रहेको भन्दै त्यसको सदुपयोग गर्न कोशिस गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, “लगानीकर्ताहरूको सुरक्षा पहिलो प्राथमिकता हो । पूँजीबजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै छ । त्यसको हामीले सदुपयोग गर्न सकिरहेका छैनौं । पूँजीबजारलाई अत्यधिक रूपमा प्रयोग गर्न सक्छौं । यी नै विषयलाई प्राथमिकताका साथ काम गर्ने उद्देश्यले जिम्मेवारीमा आएको छु ।”
यस्तै आइपीओ निष्कासनको विषय पनि प्रक्रियागत ढंगबाट अघि बढ्ने उहाँले बताउनु भयो । “स्थायी नेतृत्व नहुँदा आईपीओ रोकिएको थियो । त्यो समस्या समाधान हुँदै जान्छ”, उहाँले भन्नु भयो ।
अध्यक्ष श्रेष्ठले एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिने पहिलो निर्णय गर्नु भएको छ ।