आत्मानन्द गोल्ड कप : सिरिजङ्गा मोरङ सेमिफाइनलमा

मंसिर ९, २०८१ |खेल ब्युरो
आत्मानन्द गोल्ड कप : सिरिजङ्गा मोरङ सेमिफाइनलमा

काठमाडौं । मोरङको सिरिजङ्गा स्पोर्टिङ क्लब आत्मानन्द गोल्ड कप २०८१ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा शुरू भएको १७औं संस्करणको प्रतियोगितामा आइतबार भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका इलामलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सिरिजङ्गा सेमिफाइनलमा प्रवेश गरेको हो । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा भएको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरमा धकेलिएको थियो ।

सिरिजङगाको जितमा आशिस लावती, साउरे राउत, धिरेन क्षेत्री र रोशन धिमालले गोल गर्दा सुजन रसाइलीको प्रहार माङसेबुङका गोलरक्षकले बचाएका थिए । यस्तै माङसेबुङका विशाल दर्जी, प्रवीण राई र महेन्द्र लिम्बूले गोल गर्दा रचिन माझीको प्रहार बाहिरियो भने मिलन राईको प्रहार मोरङका गोलरक्षक प्रमिजर गच्छदारले रोकेका थिए ।

खेलको ‘म्यान अफ द म्याच’ सिरिजङ्गा मोरङका गोलरक्षक प्रमिजर गच्छदार घोषित भए । उनले नगद पुरस्कार प्राप्त गरे ।

यसैगरी भोलि सोमबार आयोजक र दमक भाङबारी स्पोर्टिङ क्लब झापाबीच प्रतिस्पर्धा हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।

अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा नेपाल र भारतका आठ चर्चित फुटबल टिम सहभागी छन् । आयोजक यूथ अफ माङसेबुङ, माङसेबुङ गाउँपालिका इलाम, तिजोक युवा क्लब पाँचथर, दूधे यूथ क्लब झापा, चुलाचुली स्पोर्टिङ क्लब झापा, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, दमक भाङबारी स्पोर्टिङ क्लब झापा र भारतबाट एमएफसी दार्जीलिङ पाहुना टोलीको रूपमा सहभागी रहेको छ ।