बोर्डर गावस्कर ट्रफी : अस्ट्रेलिया विरुद्ध भारत बलियो स्थानमा

मंसिर ९, २०८१ |खेल ब्युरो
बोर्डर गावस्कर ट्रफी : अस्ट्रेलिया विरुद्ध भारत बलियो स्थानमा

काठमाडौं । बोर्डर गावस्कर ट्रफी अन्तर्गत अस्ट्रेलिया विरुद्धको पहिलो टेस्टको तेस्रो दिनको समाप्तिसम्म भारत बलियो अवस्थामा पुगेको छ । दोस्रो इनिङमा यशस्वी जैसवाल र विराट कोहलीले शतक प्रहार गरेपछि भारत जित नजिक पुगेको हो ।

विना विकेटको क्षतिमा एक सय ७२ रन बनाएर दोस्रो दिनको शुरूआत गरेको भारतले दोस्रो इनिङमा ६ विकेट गुमाएर चार सय ८७ रन बनाएसँगै इनिङ्स समाप्तिको घोषणा गरेको थियो । भारतका ओपनर केएल राहुलले ७७ रन जोडे । यशस्वीले एक सय ६१ रनको शतकीय योगदान दिए । कोहली एक सय रनमा नट आउट रहे । नितीशकुमार रेड्डीले अविजित ३८ रन बनाए । अस्ट्रेलियाका लागि नाथन लायनले दुई विकेट लिए ।

यससँगै पहिलो इनिङमा ४६ रनको अग्रता लिएको भारतले अस्ट्रेलियालाई पाँच सय ३४ रनको विशाल लक्ष्य दियो । तर पर्थमा अस्ट्रेलियाले दोस्रो इनिङमा खराब शुरूआत गर्दै १२ रन जोड्दा तीन विकेट गुमाएको छ । भारतका लागि कप्तान जसप्रित बुमराहले दुई र मोहम्मद सिराजले एक विकेट लिँदा तेस्रो दिनको खेल समाप्त भयो । पहिलो इनिङमा एक सय चार रनमा अल आउट भएको अस्ट्रेलियाका लागि चौथो दिनको शुरूआत उस्मान ख्वाजा र स्टीभ स्मितले गर्ने छन् । ख्वाजा तीन रनमा नट आउट रहदाँ स्मिथ नयाँ ब्याटरको रूपमा क्रीजमा आउन सक्छन् । जितका लागि पाँच सय २२ रन आवश्यक रहेको अस्ट्रेलियाको सात विकेट बाँकी छ ।