जंगली हात्तीले बालीमा पुर्‍याएको क्षतिपूर्ति झापाका किसानले अझै पाएनन्

वर्षौंसम्म राहत नपाउँदा सास्ती
मंसिर १, २०८१ |रमा दाहाल
जंगली हात्तीले बालीमा पुर्‍याएको क्षतिपूर्ति झापाका किसानले अझै पाएनन्

झापा । जंगली हात्तीले पाकेको बाली नष्ट पारेर हैरान बनेका झापाका किसान सरकारी राहतका लागि वर्षौ कुर्नुपर्दा थप पीडित छन् । भारतबाट हुल बाँधेर नेपाल पस्ने जंगली हात्तीले वर्षभरि खाने अन्न बाली सखाप पारिदिँदा पनि सरकारले उपलब्ध गराउने झिनो राहतसमेत किसानले समयमा पाउँदैनन् । जसका कारण मानव हात्ती-द्वन्द्व न्यूनीकरणको अभियान सार्थक हुन सकिरहेको छैन । 

जंगली हात्तीको यो झुन्ड अहिले दिनहुँ जसो साँझ नपर्दै मेची तर्छ  । जब खेतमा धान झुल्न थाल्छ, आहाराको खोजीमा निस्केका हात्ती झापाको बाहुनडाँगी हुँदै नेपाल पस्न थालिहाल्छ । यसरी हुल बाँधेर आउने हात्ती खेतमा पसेपछि मेचीनगर र आसपासका किसानले धान भित्र्याउने आशै नगरे हुन्छ ।

बाहुनडाँगीबाट नेपाल छिरेका हात्ती विचरण गर्दै मोरङ र सुनसरीसम्म पुगेर बाली नष्ट पारिदिन्छन् । अरू बेला पनि फाट्टफुट्ट आइरहने हात्ती धान झुल्ने र मकै पाक्ने सिजनमा भने दिनहुँजसो आएर खेतबारी माड्छन् । दुःख गरेर फलाएको अन्न भित्र्याउन नपाउँदा किसानले भोग्ने दुःख भनिसाध्ये छैन । त्यसमाथि जङ्गली जनावरले बाली नष्ट गरेबापत सरकारले उपलब्ध गराउने भनेको झिनो राहतका लागि समेत वर्षौँ कुनु पर्दा किसान थप पीडामा छन् । 

संघीय र प्रदेश सरकार हुँदै बल्लतल्ल डिभिजन वन कार्यालयबाट वितरण हुन थालेको राहत रकमको निकासा सरकारले समयमा गर्दैन । डिभिजन वन कार्यालय झापाको विवरणअनुसार  विगत वर्षको डेढ करोड हाराहारी राहत रकम सरकारले अझै दिएको छैन । 

समयमा राहत नपाउने हुनाले आफ्नो बाली मास्न आउने हात्ती धपाउन किसान ज्यानकै माया मारेर अघि सर्छन् । बिच्किएका हात्तीको आक्रमणबाट मानवीय क्षति पनि उत्तिकै छ । यसलाई रोक्न मानव-हात्ती द्वन्द्व न्यूनीकरण अभियान पनि चलाइएको छ । यसका अभियन्ताहरू हात्तीले बालीनालीमा पुर्‍याएको क्षतिको राहत तत्काल उपलब्ध गराउन सरकारले छुट्टै कोष स्थापना गर्नुपर्नेमा जोड दिन्छन् ।

प्रभावित क्षेत्रका स्थानीय सरकारहरू पनि हात्तीबाट किसानले भोगेको क्षतिलाई सम्बोधन गर्ने वाचा गर्न छाड्दैनन् । तर, यस्तो वाचा अहिलेसम्म भाषणमै सीमित छ ।

झापाका सबैजसो स्थानीय तह हात्ती प्रभावित क्षेत्रमा पर्छन् । भारतबाट आहाराको खोजीमा नेपाल पस्ने जङ्गली हात्तीलाई गौँडामै रोक्न सकिने अवस्था छादै छैन । तर, सम्बन्धित वडाबाट तत्कालै राहत वितरणको व्यवस्था मिलाउने हो भने हात्तीपीडित किसान यो दुर्लभ वन्यजन्तुसँग असहिष्णु हुने अवस्था आउँदैनथ्यो कि ? 


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement