काठमाडौं । ‘कान्तिपुर कन्क्लेभ’ को चौथो संस्करण आज बुधबार र बिहीबार काठमाडौंमा हुँदैछ । कान्तिपुर मिडिया ग्रुपको आयोजनामा हुने कन्क्लेभको यसवर्षको मुख्य विषयवस्तु ‘डेमोक्रेसी इन डिलिमा’ रहेको छ ।
एनआईसी एसिया बैंकको मुख्य प्रायोजन र एसियन पेन्टस्को सह-प्रायोजन हुने यो बहसमा १२ सत्रमा ५० वक्ता रहनेछन्, जसमध्ये १० जना विदेशी पाहुना रहने कान्तिपुर मिडिया ग्रुपले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कन्क्लेभमा नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलास सत्यार्थीको 'कि नोट स्पिच' रहनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत कन्क्लेभमा वक्ताका रूपमा रहनुहुनेछ । भारतका पूर्वप्रमुख निर्वाचन आयुक्त एसवाई कुरेशी, राजनीतिशास्त्री प्रताप भानु मेहता, विल्सन सेन्टर अमेरिकाको साउथ एसिया इन्स्टिच्युटका निर्देशक माइकल कुगलम्यान, हुवाङचोङ विश्वविद्यालय चीनको इन्स्टिच्युट अफ स्टेट गभर्नेन्सका वाङ पेङ, द हिन्दुकी डिप्लोमेटिक अफेयर्स एडिटर सुहासिनी हैदर, भारतका राजनीतिक अभियन्ता योगेन्द्र यादव, बेलायती लेखक तथा पत्रकार थोमस बेल र अमेरिकी पत्रकार पिटर गिल विभिन्न सेसनमा सहभागी रहनुहुनेछन् ।
कन्क्लेभको पहिलो दिन बुधबार क्रमशः दोबाटोमा लोकतन्त्र, नीति र समृद्धि, लोकरिझ्याइँको लहर, सामाजिक सञ्जाल : दुईधारे तरबार, कलम र शक्ति : नेपाली लोकतन्त्र र पत्रकारिताका तीन दशक र प्रचण्डपथ : सडक कि सत्ता ? शीर्षकमा बहस हुनेछन् । दोस्रो दिन बिहीबार निर्वाचन सुधार : नीति कि प्रवृत्ति, भूराजनीतिक खलबल, मैदानमा महिला नायक, सीमापार समृद्धि, मुख्यमन्त्रीका मुख्य मुद्दा र प्रधानमन्त्रीसँग परिसंवाद शीर्षकमा सेसन हुनेछन् ।
सन् २०२४ मा संसारका धेरैजसो मुलुकका जनताले निर्वाचन मार्फत् नेता र नीतिको छनौट गर्ने चुनावमा भाग लिँदै गर्दा सत्तामा पुग्ने मतदातालाई प्रभावित पार्ने ‘पपुलिजम’को लहर पनि चलेको छ । आफ्नो प्रभाव र बर्चस्व स्थापित गर्नका लागि सूचना प्रविधिको दूरपयोग गर्ने प्रबृत्तिले पनि लोकतान्त्रिक आयाममाथि चुनौती थपेको छ । त्यसैले यस्तै विषयमा सार्थक बहस र लोकतन्त्रलाई मजबुत बनाउन यसवर्ष ‘डेमोक्रेसी इन डिलिमा’ लाई मुख्य विषय बनाएर विभिन्न प्यानलमा बहस गर्न लागिएको कान्तिपुरले जनाएको छ ।
सूचना संयन्त्रलाई थप जिम्मेवार बनाउन, प्रश्न र बहसलाई सघन बनाउन, जवाफदेहिताको पक्षमा आवाज सशक्त बनाउन र समग्रमा लोकतन्त्रलाई समृद्ध बनाउन सार्थक बहस र हस्तक्षेपलाई प्रवद्र्धन गर्न कान्तिपुर कन्क्लेभ– २०२४ को आयोजना गरिएको विज्ञप्तिमा भनिएको छ ।
वर्तमानका योजनाकार तथा भविष्यका स्वप्नद्रष्टा, देशभित्रका नीति निर्माता तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय सरोकारवाला, विचारकहरूको बृहद् मञ्च कान्तिपुर कन्क्लेभमा समस्याको जड खोज्ने मात्र होइन, समाधानको प्रारूपमा पनि बहस गरिने उल्लेख छ । कन्क्लेभको इकान्तिपुर र कान्तिपुर टिभीमा प्रत्यक्ष प्रशारण हुनेछ । त्यस्तै कान्तिपुर कन्क्लेभको वेवसाइट र सामाजिक सञ्जालबाट पनि कन्क्लेभका बहसहरूको अपडेट लिन सकिनेछ ।