जलवायु् परिवर्तनमा पर्वतीय तथा सामुद्रिक देश मिलेर एकीकृत रुपमा काम गर्न राष्ट्रपति पौडेलको आह्वान

कार्तिक २८, २०८१ |विकास आचार्य
जलवायु् परिवर्तनमा पर्वतीय तथा सामुद्रिक देश मिलेर एकीकृत रुपमा काम गर्न राष्ट्रपति पौडेलको आह्वान

अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय तथा सामुद्रिक मुलुक मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न आह्वान गर्नुभएको छ ।

अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२९ अन्तर्गत नेपालले आज गरेको ‘माउण्टेन इन पेरिल, एड्रेसिङ लस एण्ड डयामेज इन द हिमालय’ शीर्षकको उच्चस्तरीय राउण्ड टेबल बैठकलाई सम्बोधन गर्दै उहाँले पर्वतीय तथा सामुद्रिक देश मिलेर एकीकृत रुपमा काम गर्न आव्हान गर्नुभयो । 

उहाँले कार्वन उत्सर्जन गर्ने विकसित राष्ट्र र उच्च दरमा आर्थिक वृद्धि गर्ने राष्ट्रले उच्च जलवायु जोखिममा परेका राष्ट्रका लागि बढी सहयोग गर्नुपर्ने बताउनुभयो । जलवायु परिवर्तन सबैको साझा चुनौती भएको र यसको सामना गर्न सबैको साझा बुझाई र साझा प्रयास बनाउनुपर्ने भएकाले यस कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ थियो । 

उहाँले विगत ३ महिनामा जलवायुजन्य प्रकोपमा परेर नेपालमा ५ सयभन्दा बढी मानिसले ज्यान गुमाउन पुगेको र एक खर्वभन्दा बढीको हानी नोक्सानी भएको जानकारी पनि दिनुभयो । 

साथै, राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका प्रभाव बहुआयामिक भएकाले हानी नोक्सानीलाई जलवायु वित्त व्यवस्थापनका लागि नयाँ समष्टिगत संख्यात्मक लक्ष्यमा हानीनोक्सानी समेत समेट्न आव्हान गर्नुभयो ।

सम्मेलनमा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन आज बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको हो । पौडेलले आजै किर्गिस्तानद्वारा आयोजित उच्चस्तरीय सत्रलाई समेत सम्बोधन गर्नुभएको थियो । सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।