धादिङ । उत्तरी धादिङबाट गणेश हिमालको अध्ययन अनुसन्धान तथा संरक्षित क्षेत्र घोषणा गर्ने उदेश्यले गएका डिभिजन वन कार्यालय धादिङका प्रमुखसहितको टोली चिसोको कारण खोचमा बिरामी परेपछि उद्धारमा समस्या भएको छ ।
कात्तिक २२ गते वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यसहित १५ जनाको टोली गणेश हिमाल बेस क्याम्पतर्फ जाँदै गर्दा रुवी भ्याली गाउँपालिकाको आखु नदिको मुहान नजिक खोचमा पुगेपछि आचार्य र प्राविधिक सहायक अनुशिया ढुङ्गानालाई स्वासप्रस्वासमा समस्या भएको थियो ।
उनीहरुलाई उद्धार गर्न जिल्ला प्रशासन कार्यालय धादिङले गृह मन्त्रालय मार्फत नेपाली सेनाको हेलिकप्टर पठाएको भए पनि मौसम खराब हुँदा ३ घण्टापछि यसै फर्किएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनु भयो ।
उनीहरुको स्वास्थ्यमा थप समस्या नआओस् भनेर रुवीभ्यालीबाट स्वास्थ्यकर्मी त्यहाँ पठाउन गाउँपालिकासँग समन्वय गरिएको भए पनि कठिन भौगोलीक अवस्थाका कारण उनीहरु त्यहाँ पुग्न १५ घण्टा भन्दा बढी लाग्ने भएकाले समस्या भएको बताइएको छ । सो क्षेत्रमा संचार सम्पर्क समेत नहुँदा थप समस्या भएको छ ।
भोलि बिहान मौसम अनुकूल भए पुन हेलीकोप्टर मार्फत उद्धारको प्रयास गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो । पदयात्रा टोलीमा डिभिजन वन कार्यालय धादिङका टोलीसहित साहित्यकार र सञ्चारकर्मी समेत रहेका छन् ।