त्रिविको जग्गाबारे अध्ययन गर्न बनेको छानबिन समितिद्वारा सरकारलाई प्रतिवेदन बुझाउने तयारी

कार्तिक २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
त्रिविको जग्गाबारे अध्ययन गर्न बनेको छानबिन समितिद्वारा सरकारलाई प्रतिवेदन बुझाउने तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गाबारे छानबिन र खोजबिन गर्न बनेको समितिले शुक्रबार सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

त्रिविको जग्गा अपचलनमा संलग्न व्यक्ति तथा संस्थाहरुलाई कानुनबमोजिम कारबाहीको सिफारिससहित समितिले प्रतिवेदन बुझाउन लागेको हो । समितिले कीर्तिपुरबाहेक काठमाडौंका विभिन्न स्थानमा त्रिविको जग्गा रहेको तथ्य पत्ता लगाएको छ । नेपाल कमर्श क्याम्पसको कुपण्डोलमा २१ रोपनी जग्गा पत्ता लागेको छ ।

नैकापको १ सय २५ रोपनी जग्गाको विषयमा भने मोहीको समस्या रहेको र त्यहाँ २०२१ सालको नापीलाई आधार मानेर लगत कट्टा गर्न सुझाव दिने तयारी समितिको छ । सरकारले गत जेठ १९ गते त्रिविको अतिक्रमित जग्गाबारे छानबिन र खोजबिन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको थियो ।

त्रितालको स्वास्थ्य अवस्थाका कारण महेन्द्रकुमार थापालाई जिम्मेवारी दिइएको छ । समितिमा जानकीबल्लभ अधिकारी तथा त्रिविका विज्ञका रूपमा डा. प्रेमसागर चापागाईं सदस्य छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.