काठमाडौं । कुनै एक समय थियो- काठमाडौंमा गुन्डाहरु आफ्नो क्षेत्र नै छुट्याएर अपराधमा संलग्न हुन्थे । २०६० सालयता दीपक मनाङे भनिने राजीव गुरुङ र चक्रे मिलन समूह एक-अर्काका दुस्मन थिए । त्यही दुस्मनीमा मनाङे समूहको आक्रमणले चक्रेको हातै काटियो । त्यसयता मनाङे राजनीतिमा होमिएर प्रदेशसभा सदस्य हुँदै प्रदेशको मन्त्रीसम्म बने । तर २० वर्ष पुरानो अपराध कर्मले उनै मनाङे फेरि जेल चलान भएका छन् ।
कात्तिक २० गते सर्वोच्च अदालतले २० वर्ष पुरानो अपराधमा उच्च अदालतकै फैसला सदर गरेपछि गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ अर्थात् दिपक मनाङे एका-एक गायब भए । देखिने गरी अपराध कर्म छोडेर राजनीतिमा होमिएका मनाङे तिनै व्यक्ति हुन् । जसलाई दुई महिनाअघिसम्म गण्डकी प्रदेश सरकारको मन्त्री बन्ने प्रस्ताव थियो ।
२०६१ साल वैशाखमा मनाङेसहितको समूहले काठमाडौंको महाराजगन्जस्थित एक रेष्टुरेन्टमा चक्रे मिलनमाथि आक्रमण गरेर हातै छिनाइदिएको घटनाले २० वर्षपछि कारागार पुर्याएको छ । २० वर्षअघि काठमाडौंमा चक्रे र मनाङे सबैभन्दा ठूलो दुस्मनी भएको गुण्डा समुहका नाइके थिए । ठमेललाई आधार इलाका बनाएका मनाङेले चक्रकै क्षेत्र महाराजगन्ज गएर आक्रमण गरेका थिए ।
उक्त घटना भएको करिब ११ महिनापछि अर्थात् ६१ साल चैत १८ गते पक्राउ परे । अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठायो । काठमाडौं जिल्ला अदालतले कुटपिट ठहर गर्दै २ वर्ष कैद सजाय सुनाइएका मनाङे २०६३ माघ २८ गते कारागार मुक्त भएका थिए । तर सरकारी वकिल कार्यालयले त्यसमा चित्त बुझाएन र ज्यान मार्ने उद्योगमा कारबाहीको माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन गरायो ।
उच्च अदालतले ज्यान मार्ने उद्योगलाई प्रमाणित गर्दै २०६९ साल साउन २८ गते ५ वर्ष कैद सजाय सुनाएको थियो । उच्च अदालतको फैसलापछि पक्राउ परे पनि थुना बाहिरै बसेर मुद्दा पुनरावलोकन गर्न माग गर्दै मनाङे सर्वोच्च गए । सर्वोच्चको आदेशले कारागार बाहिरै बसेर ज्यान मार्ने उद्योगको मुद्दा लडिरहेका मनाङे २०७४ सालको निर्वाचनमा मनाङबाटै गण्डकी प्रदेश सभाको सदस्यमा निर्वाचित भएका थिए ।
जीवनभर गुन्डा र अपराधिक समूह चलाएर बसेका उनलाई २०७९ सालको चुनवामा पनि प्रदेश सभा सदस्यका रुपमा निर्वाचित हुने अवसर मात्रै मिलेन ठूला राजनीतिक दलहरुले सत्ताका लागि मनाङेलाई मन्त्रीसमेत बनाइरहे छ । फेरि पनि मन्त्री बनाउन प्रतिस्पर्धा चलिरहेकै बेला सर्वोच्चको फैसलाले उनको हातमा हत्कडी लागेको छ । आफैं अदालत उपस्थित हुने भन्दै झुक्याएर बसेका मनाङको खोजीका लागि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले टोली परिचालन गरे पनि पत्ता लगाउन समय लाग्यो ।
अन्ततः एक सातापछि काठमाडौंको नागार्जुनस्थित आफन्तको घरमा बसिरहेका उनी पक्राउ परे र २८ महिनाका लागि डिल्लीबजार कारागार चलान भए । दैनिक शान्ति सुरक्षा नै प्रभावित हुने गरी गुन्डाराज मौलाउँदा पनि त्यसलाई संरक्षण गर्नेमा राजनीतिक दल र तिनका नेताहरु नै थिए । जसको संरक्षणमा आपराधिक समूह नियन्त्रण गर्न कठिन भयो ।
तर २०७० साल यता प्रहरीले निर्ममता पूर्वक कारबाही चलाएपछि भने गुन्डा समूह तितरबितर भयो । तर उनीहरुले राजनीतिको आड लिन छाडेका छैनन् । सुशासनका लागि सधैं दाग बनिरहेका व्यक्तिहरुले राजनीतिक संरक्षण लिने र कानुन कार्यान्वयन गर्ने संयन्त्रलाई निरीह बनाउनेहरु मनाङ जेल गएपछि केही सचेत हुन्छन् कि ?