मुस्ताङस्थित कोरला नाका सञ्चालनमा आयो

कार्तिक १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
मुस्ताङस्थित कोरला नाका सञ्चालनमा आयो

मुस्ताङ । नेपाल र चीनबीचको सीमास्तम्भ रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । गृहमन्त्री रमेश लेखकले आज कार्यालयको उद्घाटन गर्नुभएको हो । कोरला नाका तिब्बतको ढोङवासेन हुँदै सिगात्सेबाट आएको 'चाइना नेसनल हाईवे'सँग जोडिएको छ ।

कोरला नाकामा नेपालले प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोस्ट स्थापना गरेको हो । अध्यागमन कार्यालय सञ्चालनका लागि सरकारले कोरला नाकासम्म विद्युत् प्राधीकरणको केन्द्रीय प्रसारण लाइनको विस्तार गर्नुका साथै नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइलको सुवा पुर्‍याइसकेको छ । चीनले भने आफ्नोतर्फ यसअघि नै भन्सार कार्यालयका साथै अन्य आवश्यक पूर्वाधार निर्माण गरिसकेको छ । अध्यागमन कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले यो नाका सञ्चालनसँगै चीनसँगको दुईपक्षीय सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

कोरोला नाकामा अहिले सन् १९८१ को नेपाल-चीनबीचको ब्यापार सम्झौताअनुसार सीमाबाट मुस्ताङका लोमन्थाङ र लोघेकर-दामोदरकुण्ड गाउँपालिकावासीले सीमा वारपार गरी सामान किनबेच गर्दै आएका छन् । नेपाली अध्यागमन स्थापना भएपछि सबै नेपालीले पास लिएर कोरला सीमा वारपार गर्न पाउनेछन् ।

गण्डकी प्रदेशको उत्तरी भूभागमा अवस्थित कोराला नाका सञ्चालनमा आएसँगै प्रदेशकै दक्षिणी नाका भारतसँग जोडिने त्रिवेणी रहेका कारण व्यापार प्रवर्द्धन, पर्यटन विस्तारलगायतका लागि यो उपयोगी बन्ने विश्वास लिइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement