छठपर्वका लागि बाँसका सामग्री बनाउने चटारो

कार्तिक १३, २०८१ |अमरकान्त ठाकुर
छठपर्वका लागि बाँसका सामग्री बनाउने चटारो

धनुषा । तराई मधेशमा विशेष निष्ठापूर्वक मनाइने छठपर्वमा प्रयोग हुने बाँसका सामग्री बनाउन डोम समुदायलाई चटारो छ । छठ पर्वमा अनिवार्य प्रयोग हुने बाँसबाट बनेका छिटी, टपरी, डगरी, सुपली, नाङ्लो सहितका सामग्री परम्परा देखि नै डोम समु्दायले बनाउँदै आएका छन् । चाडपर्वमा यी सामग्रीहरुको माग बढेपछि सीमान्तकृत डोम समुदायको आम्दानी पनि बढ्ने गरेको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका रामपुरका अनिता मल्लिकको परिवारलाई बाासको सामग्री बनाउन यतिखेर भ्याइनभ्याइ छ । छोरी ज्वाइँ सहितअनिताको पाँच जनाको परिवार छिटी, टपरी, डगरी, सुपली, नाङ्लो बनाउन व्यस्त छ । छठमा प्रयोग हुने बाँसको सामग्रीको माग बढेपछि उनीहरुले छठको बेला २५ हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका पिपराका मुकेश धनकारको पनि अहिले दिनचर्या फेरिएको छ । अरुबेला काम नपाएर यत्तिकै दिन बिताउने मुकेशलाई छठमा प्रयोग हुने बाँसको सामग्री बनाउन चटारो छ । मुकेशको पनि श्रीमती, आमा, बुबा, छोरा छोरी सबै बाँसकै सामग्री बनाउन व्यस्त छन् । मुकेशको परिवारले छठमा कम्तीमा १ सय ५० वटा नाङ्लो बनाएर बेच्ने गरेको छ ।

डोम समुदायको बसोबास रहेको अधिकांश बस्तीमा यतिखेर छठमा चाहिने बाँसका सामग्री बनाइ रहेको देखिन्छ । चाडपर्वमा कामको चटारो भए पनि अरु बेला काम नपाएर कष्टपूर्ण जीवन बित्ने गरेको प्रति उनीहरु दुःखी छन् । 

छठमा प्रयोग हुने बाँसका सामग्रीहरु प्रति गोटा १ सय देखि ६ सय रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । निष्ठा र आस्थाको पर्व छठमा प्रत्येक परिवारले बाँसका सामग्रीमा पूजा सामान सजाएर छठघाटमा लैजाने चलन छ ।     


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement