काभ्रेका बाढीपहिरो पीडित पुनर्स्थापनाको पर्खाइमा

विपद्को एक महिनासम्म पनि सरकारसँग तथ्यांकै छैन
कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभ्रेका बाढीपहिरो पीडित पुनर्स्थापनाको पर्खाइमा

काभ्रे । गत असोज दोस्रो साताको बाढीपहिरो र डुबानले काभ्रेको बेथानचोकमा ठूलो क्षति भयो । १२ जनाले ज्यान गुमाए भने ६ सय ५० भन्दा बढी घरमा पूर्ण रुपमा क्षति भए । तर विपद्को एक महिना बित्न लाग्दासमेत नागरिकले सामान्य राहतबाहेक केही पाउन सकेका छैनन् । गाउँपालिकाले समेत कार्यालय भवनको छतबाट अस्थायी रुपमा सेवा दिइरहेको छ ।

बेथानचोक गाउँपालिकाको भवनको एक तला बाढीको डुबानमा पर्‍यो । अहिले पालिकाले अस्थायी रुपमा छतबाट सेवा दिइरहेको छ ।

असोजको दोस्रो साता आएको बाढीपहिरो र डुबानले धेरै क्षति भएकोमध्येमा पर्छ काभ्रेको बेथानचोक गाउँपालिका । यहाँ १२ जनाले ज्यान गुमाए भने १ जना अझै बेपत्ता छन् । ६ सय ५० भन्दा बढी कच्ची तथा पक्की घर पूर्ण रुपमा क्षतिग्रस्त भए । सबैभन्दा बढी क्षति वडा नम्बर २ र ४ मा भएको छ तर विपद्को एक महिना बित्न लाग्दा पनि सामान्य राहतबाहेक केही पाउन नसकेको पीडितको गुनासो छ ।

पालिकाले तत्काल राहत दिए पनि अब पुनस्थापनाको काम अघि बढाउनुपर्ने स्थानीयको भनाइ छ । पालिकाको वडा नम्बर ४ हुादै बग्ने सलन्दु खोलाले पनौती १० मा पनि क्षति पुर्‍याएको छ । सलन्दु खोलाले क्षति पुर्‍याएका नागरिकले पनि बासको व्यवस्थापनका लागि सरकारको बाटो हेरिरहेका छन् ।

यस्तै एउटा विद्यालयमा पूर्ण क्षति र २२ वटा विद्यालयमा आंशिक क्षति पुगेको पालिकाको तथ्यांक छ । पूर्ण क्षति पुगेको कालिका माविको पक्की ३ कोठे भवन तथा शौचालय बाढीले बगाएको छ ।

स्वास्थ्य संस्था एउटामा पूर्ण र ५ वटामा आंशिक क्षति पुगेको छ । पालिकाभरका ५ किलोमिटर पक्की सडकमा पूर्ण क्षति तथा ५ सय ५० किमिभन्दा धेरै कच्ची सडकमा क्षति पुगेको जनाइएको छ । पालिकाले सडक संजाल जोड्ने र विद्युत र खानेपानीका कार्य गर्नुका साथै यकिन तथ्यांक संकलनसमेत थालेको छ ।

पालिकाको भवनसमेत डुबानमा कार्यालयका अधिकांश सरसामान र कागजात काम नलाग्ने भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्ऽ भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकाले पनि बेथानचोकको पूर्वाधार निर्माणमा प्रदेश सरकार र केन्द्र सरकारले सहयोग गर्ने अपेक्षा गरेको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पुनर्निर्माण र पुनर्स्थापनाका कार्यपालिकाले अगाडि बढाएकाले धैर्य रहन पालिकाबासीलाई अपिलसमेत गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.