सप्तरीका बाढीपीडितलाई दिएको पैसामा भ्रष्टाचार, अझै भएन अनुसन्धान

कार्तिक ९, २०८१ |आरएन विश्वास
सप्तरीका बाढीपीडितलाई दिएको पैसामा भ्रष्टाचार, अझै भएन अनुसन्धान

सप्तरी । सप्तरीका बाढीपीडितलाई विश्व खाध कार्यक्रम डब्लूएफपीले राहतस्वरुप दिएको बजेटमा अनियमितता भएको तथ्य बाहिर आएको साता बढी भइसक्दा पनि अनुसन्धान अघि बढ्न सकेको छैन । हनुमाननगर कंकालिनी नगरपालिकाका बाढीपीडितका नाममा आएको डब्लूएफपीको २ करोड ५३ लाख ५० हजार बजेटमा अनियमितता भएको हो ।

गत असोजमा कोसी नदीमा आएको बाढीबाट प्रभावित भएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका बाढीपीडितहरुलाई विश्व खाध कार्यक्रम अन्तर्गत भात खानका लागि नगद १५ हजारको दरले वितरण कार्यको जिम्मेवारी सेवक नेपाल काठमाडौं नामक एनजीओले पायो ।

एनजीओले वडाहरुको सिफारिसमा १ हजार ६ सय ९० परिवारलाई १५ हजारको दरले २ करोड ५३ लाख ५० हजार रुपैयाँ वितरण गरेको जनाएको छ । घरमा बाढी पसेका पीडितहरुलाई उक्त रकम प्रदान गर्नुकोसाटो धनाड्यहरुलाई प्रदान गरिएको र प्रदान गरिएको रकममा पनि वडाका जनप्रतिनिधि र सेवक नेपालका कर्मचारीबाट अनियमितता भएको तथ्यबाहिर आउँदा पनि कारबाही अगाढी बढ्न सकेको छैन ।

'यसरी डब्लूएफपीको राहत वापतको रकम बाढीपीडितलाई दिएको र फेरl पीडितबाट फिर्ता लिएको यस्तो तथ्य हामीसँग सुरक्षित छ । पीडितहरुको सामाजिक सुरक्षाका लागि हामीले नाम र अनुहार सार्वजनिक गरेका छैनौं ।' यस्तै गुनासोसहितको ज्ञापन पत्र लिएर बाढीपीडितहरु गत कार्तिक २ गते सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीसमक्ष पुग्दा उहाँले आफू समन्वय र पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । तर अहिलेसम्म न त प्रशासन कार्यालय न त डब्लूएफपीले नै अनुसन्धान अगाडी बढाएको देखिन्छ ।

उता हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुखले आफूसँग राहत रकम वितरणमा भेदभाव भएको भन्दै दिनहुँ पीडितहरु गुनासो लिएर आइरहेकाले छानबिन आवश्यक भएको बताउनुहुन्छ । सप्तरीका बाढीपीडितहरुलाई डब्लूएफपी र युनिसेफले छुट्टाछुट्टै रुपमा राहत रकम र राहत सामग्री वितरण गरेको थियो ।

तर यसरी आर्थिक अनियमितता भएको सवालमा पनि सम्बन्धित पक्षहरु कारबाहीको साटो मिलाउने दाउपेचमा जुटेका छन् । यसले न त दोषीलाई कारबाही हुन्छ न त वास्तविक बाढीपीडितले राहत रकम पाउँछन् ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।