सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने र जोशीलाई म्याद थपका लागि अदालतमा पेस

कार्तिक ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने र जोशीलाई म्याद थपका लागि अदालतमा पेस

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई म्याद थपका लागि जिल्ला अदालतमा पेस गरिएको छ । दुवै जनालाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा पेस गरिएको छ ।

असोज ६ गते पक्राउ गरी पोखरा ल्याइएका जोशीलाई अदालतले पछिल्लो पटक असोज १७ गतेदेखि लागु हुने गरी २० दिनको म्याद थपेको थियो । कार्तिक २ गते पक्राउ गरी ल्याइएका रास्वपा सभापति लामिछानेलाई असोज ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

दुवै जनालाई अदालतले यसअघि दिएको म्याद आज सकिएको छ । अदालतले दिएको म्याद सकिए पनि अनुसन्धान नसकिएकाले पुनः समय माग्न लागिएको कास्की प्रहरीले जनाएको छ ।

सूर्य दर्शन सहकारीसहित पाँच वटा सहकारीबाट ६५ करोडभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगानी गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछानेलाई मंगलबार सरकारी वकिलको कार्यालयले करिब तीन घण्टा बयान लिएको थियो भने जोशीसँग यसअघि नै बयान लिइसकेको छ ।

गोर्खा मिडियाका पूर्व सञ्चालक रहेका दुवै जनालाई प्रहरीले सहकारी रकम अपचलन र संगठित अपराध कसुरमा अनुसन्धान अगाडि बढाएको छ । अनुसन्धानका क्रममा केही थप खुल्दै गए अन्य कसुरहरुमा समेत अनुसन्धान गरिने अनुसन्धान अधिकृतहरुले बताएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.