पोखरामा निषेधाज्ञा जारी, रवि लामिछानेमाथिको अनुसन्धान सुरु

कार्तिक ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
पोखरामा निषेधाज्ञा जारी, रवि लामिछानेमाथिको अनुसन्धान सुरु

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुको प्रदर्शनलाई रोक्न कास्की जिल्ला प्रशासनले पोखराका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको हो ।

पोखराको शहीदचोक तथा गैह्रापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप हुन सक्ने भन्दै निषेधाज्ञा आदेश जारी गरेको जानकारी दिनुभयो । हिजो बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी भएको हो ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । उक्त अवधिमा यस आदेशको उल्लङ्घन गर्ने जोसुकै उपर प्रचलित कानुन बमोजिम कारबाही हुने आदेशमा उल्लेख छ । रास्वपाका नेता-कार्यकर्ताले शनिबारदेखि नै पोखरामा प्रदर्शन गरिरहेका छन् ।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई ६ दिन हिरासतमा राखी अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । म्याद थपपछि प्रहरीले लामिछानेविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.