सहकारी ठगीमा कोको माथि भयो कारबाहीको प्रक्रिया सुरु ?

कार्तिक ४, २०८१ |सुदिल पोखरेल
सहकारी ठगीमा कोको माथि भयो कारबाहीको प्रक्रिया सुरु ?

काठमाडौं । सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सिफारिस गरेका सबै व्यक्तिमाथि कारबाहीको प्रक्रिया सुरु भएको जनाएको छ । 

समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कारबाहीको सिफारिस गर्नुका साथै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलगायतमाथि पनि अनुसन्धान गर्न सुझाएको थियो ।

गत जेठ १५ मा गठन भएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले २२ वटा समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका १८ गरी ४० सहकारीको अध्ययन गरेर भदौ अन्तिम साता प्रतिवेदन बुझाएको थियो । जसलाई मन्त्रिपरिषद्ले पारित गरेपछि अहिले कार्यान्वयनको चरणमा छ । 

समितिको प्रतिवेदनमा सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गराउने कार्यमा अध्यक्ष जीबी राई भनिने गितेन्द्रबाबु राई, सदस्य कुमार रम्तेल, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी जिम्मेवार रहेको ठहर गर्दै कानुन बमोजिम कारबाहीका लागि सिफारिस गरेको थियो ।

त्यसका साथै, हेटौंडाको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनका विषयमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि समेत अनुसन्धान गर्न समितिले सिफारिस गरेको छ । सरकारले समितिको प्रतिवेदनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइएको र सिफारिस भएका सबै अनुसन्धानमा तानिने जनाएको छ । मितेरी सहकारीका सम्बन्धमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआइबीले अध्ययन गरिरहेको छ । 

त्यस्तै सूर्यदर्शन सहकारी पोखराका जीबी र थानबहादुर बुढामगर, सहारा चितवनका दिनेश रोक्का, सुप्रिम बुटवलका सागर केसी, सानो पाइला वीरगन्जका तस्वीरण खातुनसँगै स्वर्णलक्ष्मी सहकारी काठमाडौंका भूपेन्द्र राईलाई कानुनी दायरामा ल्याउन संसदीय विशेष समितिले सरकारलाई निर्देशन गरेको छ । गृहमन्त्री रमेश लेखकले पनि प्रतिवेदनले सुझाएका सबैलाई कारबाही गरिने बताउनु भएको छ । यीमध्ये कतिपय भने महिनौंदेखि फरार छन् ।

२२ वटा समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका १८ गरी ४० वटा सहकारीमा सर्वसाधारणको ७१ अर्ब ३० करोड बचत छ भने ८७ अर्ब ८९ करोड दायित्व रहेको देखिन्छ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।