यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

कार्तिक ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी आयोगहरू बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि गठित सिफारिस समिति पुनर्गठन गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिलाई पुनर्गठन गरी समितिलाई पूर्णता दिएको हो ।

मिश्र नेतृत्वको सिफारिस समितिमा राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको आयोगको सदस्य रहनेछन् भने सरकारले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, डा.अर्जुनकुमार कार्की र स्टेला तामाङलाई सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले सदर चिडियाखानाको व्यवस्थापन जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ भने मुस्ताङको कोरोला नाकामा अध्यागमन कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै सरकारले सुरक्षित, भरपर्दो र विश्वसनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.