१३५ जना पर्यटकलाई हेलिकोप्टरमार्फत सोलुको फाप्लु र सुर्के पुर्‍याइयो

कार्तिक १, २०८१ |नवराज श्रेष्ठ
१३५ जना पर्यटकलाई हेलिकोप्टरमार्फत सोलुको फाप्लु र सुर्के पुर्‍याइयो

रामेछाप । मन्थलीमा रोकिएकामध्ये आज १३५ जना पर्यटकलाई हेलिकोप्टरमार्फत सोलुखुम्बुको फाप्लु र सुर्के पुर्‍याइएको छ ।

रामेछापको मन्थली विमानस्थलबाट लुक्ला उड्ने पर्खाइमा रहेका पर्यटक चार दिनसम्म पनि उडान नभएपछि मन्थलीमै रोकिएका थिए । उनीहरूलाई हेलिकोप्टरमार्फत आज सोलुखुम्बुको फाप्लु र सुर्के पुर्‍याइएको हो ।

सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सोमबारदेखि मन्थली-लुक्ला उडान रोकिएपछि एक हजार भन्दा बढी पर्यटक मन्थलीमै रोकिएका थिए ।

गत सोमबारदेखि मन्थली-लुक्ला उडान हुन नसक्दा मन्थलीमा रोकिएका पर्यटकमध्ये बिहीबार १३५ जनालाई हेलिकोप्टरबाट सोलुखुम्बुको फाप्लु र सुर्के लगिएको रामेछाप नागरिक उड्डयन कार्यालय मन्थलीका उपप्रबन्धक हिरण साहले जानकारी दिनुभयो ।

बिहीबार बिहान साढे ११ बजेबाट विभिन्न कम्पनीका पाँच वटा भन्दा बढी हेलिकोप्टरहरुले २७ वटा उडान गरी १३५ जना पर्यटकहरूलाई सोलुखुम्बुको फाप्लु र सुर्के पुगेका हुन् । 

एउटा हेलिकोप्टर उडानमार्फत पाँच जना पर्यटक भने सोलुखुम्बु पुगेका छन् । 


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका राेछाप संवाददाता हुन् ।