इजरायली हमलाको चपेटामा शान्ति सेना

लेबनानमा शान्ति मिसनमा खटिएका नेपाली सेना सुरक्षित रहेको सेनाको भनाइ
आश्विन २९, २०८१ |सुबिन्द्र श्रेष्ठ
इजरायली हमलाको चपेटामा शान्ति सेना

काठमाडौं । नेपाली सेनाले लेबनानमा शान्ति स्थापनार्थ खटिएको मिसनमा सहभागी नेपाली शान्ति सैनिक सुरक्षित रहेको जनाएको छ । हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा इजरायलले लगातार आक्रमण गरिरहँदा लेबनानमा शान्ति मिसन रहेका नेपाली सैनिकहरु पनि प्रभावित भएका हुन् । हाल शान्ति सैनिक बंकरमै रहेको र नियमित गस्ती स्थगित रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

दक्षिण लेबनानको सीमावर्ती क्षेत्रमा हिजबुल्लाह र इजरायली सेनाबीच युद्ध चर्किएको अवस्थामा लेबनानमा रहेका शान्ति सैनिक फिर्ता लैजान इजरायलले आग्रह गरिरहेका बेला राष्ट्रसंघले भने शान्ति सेना फिर्ता नहुने स्पष्ट पारेको छ । नेपालस्थित सैनिक मुख्यालयले राष्ट्रसंघको निर्णय र निर्देशन अनुसार नै शान्ति सेनाको तैनाथी रहने पनि जनाएको छ ।

हिजबुल्लाह र इजरायलबीच लगातार आक्रमण र प्रत्याक्रमणहरू भइरहेकाले अहिले शान्ति मिसनमा रहेको नेपाली सेना त्यस क्षेत्रमा बंकरभित्रै रहेको नेपाली सेनाले जनाएको छ । युद्धले गम्भीर रुप लिने आशंका बढीरहेकाले बाहिर हिँडडुल तथा गस्ती बन्द भएकाले नेपाली शान्ति सेना सुरक्षित नै रहेको सेनाले उल्लेख गरेको छ । शान्ति सेनामा संलग्न हुनु भनेकै युद्ध र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि हो ।

संयुक्त राष्ट्रसंघले लिने रणनीतिकै मुताबिक मिसन कसरी अघि बढाउने भन्ने निर्धारण हुन्छ । यद्यपि कतिपय कूटनीतिज्ञ युद्धले उत्कर्ष लिएका बेला सबभन्दा पहिले शान्ति सेनाकै सुरक्षामा जोड दिनुपर्ने तर्क गर्छन्। तर सेना भन्छ- 'यस्ता चुनौतीपूर्ण ठाउँहरूमा तैनाथ हुनु अघि कुनै पूर्वसर्त हुँदैन । मिसनमा रहँदा नेपाली सेनाको जिम्मेवारी नै शान्ति स्थापना हो ।' लेबनान समेत हेर्ने गरी इजिप्टमा रहेको नेपाली राजदूतावासले भने सेनाको विषय भएकाले राष्ट्रसंघको सुरक्षा परिषदको निर्णयले नै अबको बाटो निर्धारण गर्ने जनाएको छ ।

सन् १९७८ मा इजरायली अतिक्रमणपछि दक्षिणी लेबननमा इजरायली सेना सिमानाबाट फर्किएको यकिन गर्ने कार्यादेशका साथ त्यहाँ स्थापना भएको यूनीफीलको, नेपाल पनि हिस्सा बनेको थियो । चार दशकभन्दा लामो समयदेखि इजरायल लेबनन सिमा क्षेत्रमा निलो घेरा बनाएर बसेको शान्ति मिसनमाथि यसअघि पनि आक्रमण नभएका होइनन् । 

त्यसैले यस्तो अवस्थालाई गम्भीरताका साथ लिनुपर्ने तर सशंकित हुन नहुने जानकार बताउँछन् । लेबनन सिमानामा अहिले ३४ मुलुकका झन्डै १० हजार सेना शान्ति मिसनका लागि तैनाथ छन् ।

नेपाली सेनाले मिसनमा खटिएका नेपाली शान्ति सैनिक सुरक्षित रहेको जनाएको छ । लेबनानमा विकसित परिस्थितिका आधारमा संयुक्त राष्ट्रसंघ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशअनसार नै नेपाली शान्ति सेना खटाइने सेनाले जनाएको छ । ८७७ नेपाली फौज लेबनान सिमानामा छन् । अहिलेसम्म नेपाली सेनाका डेढ लाखभन्दा धेरै सैनिक विभिन्न देशमा शान्ति सेनामा खटिएका छन् ।


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।