देशभर दशैंको माहोल, सुरक्षा निकायलाई छैन फुर्सद

आश्विन २४, २०८१ |रमेश धमला
देशभर दशैंको माहोल, सुरक्षा निकायलाई छैन फुर्सद

काठमाडौं । विपद् आउने वित्तिकै सुरक्षाकर्मी परिचालन गरिन्छ किनकी उनीहरुले त्यही किसिमको तालिम प्राप्त गरेका हुन्छन् । तर तत्कालको उद्धार पछि राहत र पुनर्स्थापनामा प्रशासनिक संयन्त्र सक्रिय हुनुपर्छ । अहिले असोज ११ र १२ गतेको बाढी, पहिरो र डुबानले सबैभन्दा बढी प्रभावित २२ जिल्लामा उद्धारको काम सकिएपछि पनि राहत र पुनर्निर्माणमा फेरी सुरक्षा निकाय नै खटिरहेको छ । सुरक्षाकर्मीलाई सहजीकरण गरिदिनुपर्ने निकायहरु भने निस्प्रभावी भएको आरोप अहिलेसम्म लागिरहेको छ । यी निकाय निष्प्रभावी हुँदा विपद्को उद्धारमा खटिएका सुरक्षाकर्मीलाई दशैंको बिदा रोकेरै भए पनि फेरि अबरुद्ध सडक खुलाउन परिचालन गरिएको छ । 

सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमाथिको खुर्कोटको पुल बगाएपछि अहिले नेपाली सेनाले बेलिब्रिज जडान गरिरहेको छ । बाढीपीडितको उद्धार लगभग सकिएपछि अबरुद्ध राजमार्ग खुलाउन र बेलिब्रिज राख्न सेनाले आफ्नो जनशक्ति परिचालन गरेको हो । दशैंको मुखमा पृथ्वी राजमार्गका केही स्थान, कान्तिलोक पथ तथा बीपी राजमार्ग बढी प्रभावित भएका छन् । अवरुद्ध भएका स्थानमा बैकल्पिक मार्ग खोल्न र बीपी राजमार्गमा पनि खोलाको बगरबाटै भए पनि यातायात सञ्चालन गर्न सेनाले सहयोग गरिरहेको छ । मेची राजमार्गको पााचथर-ताप्लेजुङ जोड्ने हेवा खोलाको बेलिबि्रज बगाएपछि अस्थायी पुल राखिएको छ । काठमाडौं उपत्यकाबाहेक काभे्रपलान्चोक, सिन्धुपाल्चोक, सिन्धुली, पााचथर, इलामलगायतका जिल्लामा करिब ६ हजार सेना अबरुद्ध सडक खुलाउन तथा अस्थायी पुल बनाउन परिचालन गरिएको छ ।

सशस्त्र प्रहरीले प्रत्येक वर्ष दशैंमा गर्दै आएको बडाभोज नै स्थगित गरेर आफ्नो जनशक्ति विपद्मा परिचालन गरेको छ । विपद् उद्धारमा दख्खल राख्ने जनशक्ति भएको सशस्त्रले यस पटक आफ्ना कर्मचारीको दशैं विदासमेत कटौति गरेको छ । सिमा सुरक्षा गर्दै आएको सशस्त्रको अहिले बाढी प्रभावितको उद्धार तथा सडक बनाउन मात्रै दैनिक २५ सय जनशक्ति परिचालन गरिरहेको हो । सशस्त्रले विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य टोलीसमेत खटाएको छ ।

नेपाल प्रहरीको जनशक्ति पनि दशैंमा यात्रा गर्नेहरुको सहजीकरणमै बढी खटिएको छ । दैनिक शान्ति सुरक्षाको जिम्मेवारीमा समेत रहेको नेपाल प्रहरीले राजमार्गहरुमा सवारी चापले बढेको जाममा सहजीकरण गर्दै विपद्मा परेकाहरुको उद्धारमा अन्य सुरक्षा निकायलाई साथ दिइरहेको छ । किरिया र बिरामीबाहेक बिदा रोकेको प्रहरीले आपराधिक घटना नियन्त्रण र सडक अबरुद्ध हटाउन ६० हजार जनशक्ति परिचालन गरेको छ ।

स्रोत साधन उपलब्ध गराउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण जस्ता संयन्त्र निस्प्रभावी छन् । सुरक्षा संगठनहरुले न्यून स्रोत साधनका बीच पनि शान्ति सुरक्षामा मुख्य जिम्मेवारीबाहेक सडक र पुल मर्मतमा पनि परिचालित भइरहादा उनीहरुका लागि आवश्यक स्रोत साधन उपलब्ध गराउन जिम्मेवार निकायहरुले तदारुकता देखाएको देखिँदैन । जबकी यो बेलामा राहत र पुनर्स्थापनाका लागि गृहमन्त्रालय मातहतको सिडियो कार्यालय, स्वास्थ्य मन्त्रालय अन्तरगतका चिकित्सकहरु, भौतिक योजना मन्त्रालय अन्तरगतका कार्यालयहरु, खानेपानीलगायत प्रभावितसँग प्रत्यक्ष सम्बन्धित सबै निकायका कर्मचारीहरु घर घरमा पुगेर सेवा दिइरहेको हुनुपर्ने हो ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।