सल्यान । धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित सल्यानको खैराबाङ मन्दिर बजेट अभावमा अलपत्र परेको छ । बहुवर्षीय आयोजनाअन्तर्गत गत आर्थिक वर्षमा विनियोजन भएको बजेटको काम सकिएको तर दोस्रो पटक बजेट विनियोजन नहुँदा पुनर्निर्माणको काम अलपत्र परेको हो । काम सम्पन्न नहुँदा दशैंमा अलपत्र मन्दिरबाटै पुजापाठ भइरहेको छ ।
सल्यानको शारदा नगरपालिका-११ मा स्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र खैराबाङ भुवनेश्वरी भगवती मन्दिर पुनर्निर्माणको काम डेढ वर्षअघि थालिएको थियो । जसका लागि पूरातत्व विभागले पूरानो मन्दिर भत्काएको थियो । पुनर्निर्माणअन्तर्गत मन्दिरको गाह्रो लगाउने, झ्याल ढोका राख्ने काम सकिएको छ । छाना राख्नेलगायत अन्य र रंगरोगनको काम अझै बाँकी छ । तर, बजेट नपर्दा मन्दिरको काम पुरा हुने टुंगो छैन । गत वर्षजस्तै यस वर्ष पनि अलपत्र मन्दिरमै बडादशैँको पुजापाठ सुरु भएको छ ।
पहिलेको मन्दिरको आकार सानो थियो भने झ्याल ढोका पनि साना थिए । मन्दिरका चारैतिरका खम्बा, छड सिमेन्टकै थिए । मन्दिरलाई पुरानै प्यागोडा शैलीमा बनाउने भनेर पुरातत्व विभागले मन्दिर भत्काउन लगाएको थियो । त्यसपछि बिभागले ढुंगामाटो र काठको मात्रै प्रयोग गरेर मन्दिर पुनर्निर्माणको काम सुरु गरेको हो । बहुवर्षीय आयोजना मार्फत मन्दिर पुनर्निर्माणको काम भइरहे पनि आधाकाम मात्र भएको छ ।
मन्दिर पुनर्निर्माणका लागि एक करोड ५२ लाखको लागत अनुमान गरिएको थियो । त्यसमध्ये पहिलो वर्ष झण्डै ८० लाख रुपैयाा प्राप्त भयो । मन्दिरको बाँकी काम सम्पन्न गर्न अझै ५० लाख रुपैयाँ बढी लाग्ने आाकलन गरिएको छ । मन्दिरको काम तोकिएकै समयमा सम्पन्न गर्ने भनिए पनि विभागले फेरि बजेट बिनियोजन गरेको छैन ।
निर्माणाधीन मन्दिरमा अहिले बाँस ठड्याइएको छ भने, त्रिपालले ढाकिएको छ । यस मन्दिरमा विशेषगरी आश्विन शुक्लपक्ष र चैत्र शुक्लपक्षसँगै अरु समयमा पनि भक्तजनको घुइँचो लाग्ने गर्दछ । खैराबाङ भगवती मन्दिरमा बर्सेनि करिब दुई लाख भक्तजनले दर्शन गर्ने गर्छन् ।